रौतहट । अविरल वर्षासँगै आएको बाढी र चट्याङका कारण रौतहटमा ठूलो मानवीय क्षति भएको छ। पछिल्ला तीन दिनयता जिल्लाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा परेर सातजनाले ज्यान गुमाएका छन् भने एकजना अझै बेपत्ता छन्।
देवाही गोनाही नगरपालिका–६ कर्कच गाउँमा सोमबार नुहाउन गएका दुई बालिकाको शव मंगलबार फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी राजु कार्कीले जानकारी दिए। नुहाउने क्रममा डुबेर हराएका रामदयाल रामकी १२ वर्षीया छोरी आरति कुमारी र शिवधारी रामकी ११ वर्षीया छोरी अन्तिमा कुमारीको शव सशस्त्र प्रहरी र स्थानीयको संयुक्त टोलीले फेला पारेको हो।
आरतिको शव बिहान करिब १० बजे भेटिएको थियो भने अन्तिमाको शव केही पर जलकुम्भीमा अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। दुबैको शव कानूनी प्रक्रिया पूरा गरी परिवारलाई बुझाइएका छन्।
त्यसअघि राजपुर नगरपालिका–८ बलुवा गोठ टोलका १० वर्षीय अरबाज मिया सोमबार बकैया नदीमा नुहाउने क्रममा बगेर मृत्यु भएका थिए। स्थानीय र सुरक्षाकर्मीले उद्धार गरी स्वास्थ्य केन्द्र पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।
आइतबार राति ईशनाथ नगरपालिका–१ बन्जरहाकी ६० वर्षीया राजकुमारी देवी घरको भरेङबाट लडेर बाढीको पानीमा बग्दा ज्यान गुमाएकी थिइन्। त्यसैदिन माधवनारायण नगरपालिका–८ खडकी रजबाडाकी ७५ वर्षीया पनमा देवी यादव बागमती नदीमा दाउरा टिप्ने क्रममा बगेर मृत्यु भएकी थिइन्।
यसैगरी कटहरिया नगरपालिका–२ हथियाही टोलमा आइतबार साँझ परेको चट्याङले दुई युवाको ज्यान लिएको छ। १७ वर्षीय सरोज लहेरी र १६ वर्षीय नवीन यादव चट्याङ लागेर घटनास्थलमै मृत्यु भएका हुन्।
प्रहरीका अनुसार हालसम्म बाढी, डुबान र चट्याङका कारण सातजनाको मृत्यु पुष्टि भएको छ। एक व्यक्ति अझै बेपत्ता छन् भने एकजना घाइते छन्।
सुरक्षानिकायहरूले नदी, खोला र बाढी प्रभावित क्षेत्रमा नजान, विशेष गरी नुहाउने, माछा मार्ने वा दाउरा टिप्ने जस्ता कार्य नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।