काठमाडौँ । नेपालका दुई कम्युनिस्ट शक्तिहरू बीच आज ऐतिहासिक एकता भएको छ । लोकनारायण सुवेदी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र नारायणप्रसाद शर्मा नेतृत्वको अखिल नेपाल कम्युनिस्ट पार्टीबीच सोमबार संवाद डबलीमा एकता घोषणा गर्दै नयाँ पार्टीको नाम “नेपाल कम्युनिस्ट पार्टी” राख्ने निर्णय गरिएको हो ।
घोषणासभामा बोल्दै सुवेदी र शर्माले पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद, लेलिनवाद र माओ विचारधारा हुने स्पष्ट पारे । नयाँ पार्टीको दीर्घकालीन उद्देश्य भनेको नयाँ जनवादी क्रान्ति पूरा गर्दै समाजवाद हुँदै साम्यवादतर्फ अघि बढ्नु रहेको घोषणा गरियो।
क्रान्तिको बाटो सशस्त्र संघर्ष र जनविद्रोह
एकता आधारपत्रअनुसार पार्टीले अपनाउने क्रान्तिको बाटो सशस्त्र संघर्ष र जनविद्रोहको संयोजन हुने जनाएको छ । त्यस्तै, सामन्तवाद, साम्राज्यवाद र तिनलाई संरक्षण गर्ने दलाल–नोकरशाही पुँजीवादी वर्गसँग मुख्य अन्तरविरोध रहने ठहर गरिएको छ।
सुवेदीले श्रमिक, मजदूर, किसान, भूमिहीन, सुकुम्बासीलाई नयाँ जनवादी क्रान्तिका मुख्य प्रेरक शक्ति भएको बताउँदै निम्न पुँजिपति, मध्यम वर्ग, दलित, महिला, आदिवासी जनजाति, मधेसी, मुस्लिमलगायतलाई क्रान्तिका मित्र शक्तिका रूपमा परिभाषित गरे।
कांग्रेस, एमाले र माओवादीमाथि आरोप
घोषणासभामा नेताहरूले नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रकै कारण देशमा जेन–जी आन्दोलनमार्फत असन्तोषको विस्फोट भएको आरोप लगाए। उनीहरूले नयाँ पार्टीलाई देशको वैकल्पिक राजनीतिक शक्तिका रूपमा निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै देशभक्त, क्रान्तिकारी, सामन्तवाद–साम्राज्यवाद विरोधी शक्तिलाई गोलबन्द गर्ने आह्वान गरे।
नेतृत्व र संरचना
नयाँ एकीकृत पार्टीको संयोजकमा लोकनारायण सुवेदीलाई चयन गरिएको छ। त्यस्तै, सुवेदीसहित १४ सदस्यीय सचिवालय गठन गरिएको छ, जसमा नारायण शर्मा, शरणबिक्रम मल्ल, लक्ष्मण उप्रेती, भीम सेढाई, एकलाल श्रेष्ठ, पुष्कर गौतम, महेन्द्र जोशी, अन्कुलकुमार राउत, मुकुन्द आचार्य, रामदुलार महतो, भीमकुमार वान्तवा, बद्री अधिकारी र महादीप पोखरेल रहेका छन्।
पार्टीले यससँगै ३५ सदस्यीय पोलिटब्यूरो पनि सार्वजनिक गरेको छ।
क्रान्तिकारी आन्दोलन पुनर्गठनको सुरुवात
शर्माले यो एकतालाई नेपालमा छरिएका विभिन्न क्रान्तिकारी कम्युनिस्ट पार्टी, समूह, संघ–संस्था र स्वतन्त्र व्यक्तिहरूलाई एकीकृत गर्ने र कम्युनिस्ट आन्दोलन पुनर्गठन गर्ने प्रारम्भिक प्रक्रियाका रूपमा व्याख्या गरे।
यस एकतापछि नेपाली राजनीतिक परिदृश्यमा नयाँ “नेपाल कम्युनिस्ट पार्टी” क्रान्तिकारी वैकल्पिक शक्तिका रूपमा उदाउने संकेत देखिएको छ।