ओली नेतृत्वको सरकारले पेस गरेका सबै प्रस्ताव फिर्ता
काठमाडौं । अन्तरिम सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनसँग सम्बन्धित विषयमा महत्वपूर्ण निर्णयहरू गरेको छ।
बैठकले आन्दोलनका क्रममा भएका घटनाहरूको छानबिनका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय गरेको छ। गृह, कानुन तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्यालका अनुसार आयोगको संरचना र कार्यक्षेत्रबारे टुङ्गो लगाउन बाँकी छ।
जेनजी आन्दोलनमा ज्यान गुमाउने व्यक्तिका परिवारलाई सरकारले क्षतिपूर्ति र अन्य खर्चबापत कुल १५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। जसअनुसार १० लाख क्षतिपूर्ति र थप ५ लाख अन्त्येष्टि तथा अन्य खर्चका लागि उपलब्ध गराइनेछ। यो रकम अर्थ मन्त्रालयमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयद्वारा मृतकका परिवारलाई हस्तान्तरण गरिने मन्त्री अर्यालले बताए।
यसैगरी, आन्दोलनमा शहीद भएकाहरूको सम्झनामा ‘जेनजी जागरण स्मारक पार्क’ निर्माण गर्ने निर्णय पनि बैठकले गरेको छ। पार्कको स्थान भने अझै तोकिएको छैन।
बैठकले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मन्त्रिपरिषद्मा पेस गरेका तर निर्णय नभएका सबै प्रस्ताव फिर्ता गर्ने निर्णयसमेत गरेको छ। ती प्रस्तावहरू सम्बन्धित मन्त्रालयमा फिर्ता गरी आवश्यक प्रक्रिया अघि बढाइने मन्त्री अर्यालले जानकारी दिए।
जेनजी आन्दोलनका क्रममा हालसम्म ७२ जनाले ज्यान गुमाइसकेका छन्।