काठमाडौँ, भदौ ३१ गते
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन मिति तोकेसँगै निर्वाचन आयोग आमनिर्वाचनको आन्तरिक तयारीमा जुटेको छ।
आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्ने क्षमता आयोगसँग रहेको बताउँदै आवश्यक स्रोत–साधन सरकारबाट उपलब्ध गराइए सहज रूपमा निर्वाचन गराउन सकिने जानकारी दिनुभयो। उहाँले सरकार गठनसम्बन्धी संवैधानिक विवादबारे भने टिप्पणी गर्न चाहनुभएको छैन।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मिति तोकिएपछि आयोगले जनशक्ति व्यवस्थापन, स्रोत–साधन र बजेटलगायतका विषयमा आन्तरिक गृहकार्य सुरु गरिसकेको छ। उहाँले निकट भविष्यमै प्रधानमन्त्रीसँग भेटेर आवश्यक समन्वय गर्ने तयारी भइरहेको जानकारी दिनुभयो।
निर्वाचन आयोग ऐन–२०७३ अनुसार नेपाल सरकारले आयोगसँग परामर्श गरेर मात्र निर्वाचनको मिति तोक्ने प्रावधान छ। यद्यपि आयोगमा पाँच आयुक्त हुनुपर्नेमा हाल प्रमुखसहित दुई पद रिक्त रहेका कारण संस्थागत अपूरा संरचनाबीच निर्वाचन तयारी अघि बढाइएकाे छ।

