काठमाडौँ, भदौ ३१ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार देशभित्रको कूल विदेशी मुद्रा सञ्चिति रु २८ खर्ब नाघेको छ। गत साउन मसान्तसम्म यो रकम रु २८ खर्ब चार अर्ब पुगेको हो।
गत असार मसान्तमा सञ्चिति रु २६ खर्ब ७७ अर्ब ६८ करोड मात्र थियो। साउन मसान्तसम्म आइपुग्दा यो रकम ४.८ प्रतिशतले वृद्धि भएको छ। अमेरिकी डलरमा सञ्चिति १९ अर्ब ५० करोडबाट बढेर २० अर्ब तीन करोड पुगेको छ।
राष्ट्र बैंकमा मात्र रहेको विदेशी मुद्रा सञ्चिति असार मसान्तमा रु २४ खर्ब १४ अर्ब ६४ करोड थियो भने साउन मसान्तमा ४ प्रतिशतले बढेर रु २५ खर्ब ११ अर्ब ४५ करोड पुगेको छ। त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरूमा रहेको विदेशी सञ्चिति १२ प्रतिशतले बढ्दै रु दुई खर्ब ९४ अर्ब ५८ करोड पुगेको छ।
कूल विदेशी सञ्चितिमध्ये भारतीय मुद्राको हिस्सा २३.४ प्रतिशत रहेको छ। हालको सञ्चिति आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको रकमले २०.४ महिनासम्मको वस्तु आयात र १६.६ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकको आकलन छ।
यस अवधिमा चालु खाता रु ७८ अर्ब १४ करोडले बचतमा देखिएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा रु ३३ अर्ब आठ करोड मात्र थियो। अमेरिकी डलरमा पनि चालु खाता बचत २५ करोडबाट बढेर ५६ करोड पुगेको छ।
खुद पुँजीगत ट्रान्सफर रु एक अर्ब चार करोड पुगेको छ भने अघिल्लो वर्ष सोही अवधिमा यो रकम रु २२ करोड मात्र थियो। यसैगरी, प्रत्यक्ष वैदेशिक लगानी साउन मसान्तसम्म रु ६९ करोड भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा रु ८० करोड थियो।
शोधनान्तर स्थिति पनि सकारात्मक देखिएको छ। समीक्षा अवधिमा शोधनान्तर स्थिति रु ८९ अर्ब ३० करोडले बचतमा रहेको छ, जुन अघिल्लो वर्ष सोही अवधिमा रु ४० अर्ब ९० करोड मात्र थियो। अमेरिकी डलरमा यो बचत ३१ करोडबाट बढेर ६४ करोड पुगेको छ।

