काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता बुझाउन व्यवसायीलाई तीनहप्ते अल्टिमेटम दिएको छ। आइतबार एक सूचना जारी गर्दै प्राधिकरणले १७ कात्तिकभित्र बक्यौता बुझाउन समय दिदैं अन्यथा कारबाही गर्ने चेतावनी दिएकाे हाे।
विद्युत प्राधिकरणका अनुसार उद्योगीले डेडिकेटेड तथा ट्रंकलाईनको बक्यौता रकम किस्ताबन्दीमा तिर्न चाहेमा २८ किस्ताको सुविधा दिइने समेत सूचनामा जनाएको छ।
यसअघि बक्यौता रहेका ग्राहकलाई प्रशासकीय पुनरावलोकनका लागि जेठ २०८२ भित्र निवेदन दिन सक्ने म्याद कायम भएको थियो। सोही अनुसार २०८२ वैशाख २६ र ३० गते सूचना प्रकाशित भएको थियो।
प्राधिकरण सञ्चालक समितिको १० असोजको बैठकले म्याद कायम गर्ने निर्णय र प्रशासकीय पुनरावलोकनसँग सम्बन्धित सबै काम कारबाही बन्द गरेका कारण अब उद्योगीहरूले पूर्वनिर्धारित शूल्क अनुसार नै बक्यौता तिर्नुपर्ने छ।
प्राधिकरणले पछिल्लो समय २९ कात्तिक २०८१ मा गोरखापत्रमा प्रकाशित सूचना अनुसार बक्यौता तिर्नुपर्ने बताएकाे छ। जसअनुसार टीओडी मिटरमा रेकर्ड भएको डिमाण्ड तथा टाइम इन्टर्भलमा रेकर्ड भएको खपत इनर्जीका आधारमा गणना भएको बिल अनुसारको बक्यौता तिर्नुपर्ने छ।