गोरखा । देशभर जेनजी प्रदर्शनका क्रममा विभिन्न कारागार र सुधारगृहबाट भागेका १२ जना कैदीबन्दीलाई गोरखामा प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामध्ये सात जना कास्की कारागारका, तीन जना केन्द्रीय कारागार जगन्नाथदेवलका, एक जना तनहुँ कारागारका र एक जना भक्तपुर सानोठिमीस्थित बालसुधार गृहका रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विकका अनुसार पक्राउ परेका सबैलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित कारागार तथा सुधारगृहमा पुनः पठाइसकिएको छ।
पक्राउ परेकामध्ये कास्की कारागारबाट भागेर गोरखा पुगेका विक्रम नेपाली, तेन्जिङ रिग्देल लामा, छेवाङ रिजिन लामा, सोनाम ल्याल्जेन लामा, बाबुराम नेपाली, राजेश विश्वकर्मा सुनार र सोनामा दोर्जे लामा रहेका छन्। त्यस्तै, केन्द्रीय कारागार जगन्नाथदेवलबाट भागेका भरत ठकुरी, सुमन सुनदास र भुवन तामाङ पनि गोरखामै पक्राउ परेका हुन्।
तनहुँ कारागारबाट भागेका विशाल उपरकोटी र सानोठिमी बालसुधार गृहबाट भागेकी सुस्मा मग्रातीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरी उपरीक्षक विकका अनुसार, “पक्राउ परेकामध्ये केही गोरखाकै बासिन्दा हुन् भने केही अन्य जिल्लाका रहेका छन्। बाँकी फरारको खोजी कार्य पनि जारी छ।”