काठमाडौँ । काठमाडौँमा दोस्रो दिन जारी आन्दोलन झनै उग्र बनेको छ । कर्फ्यु आदेश जारी गरिएको अवस्थामा पनि जेनजी पुस्ताका युवाहरू नेताहरूको निवास लक्षित गर्दै प्रदर्शनमा उत्रिएका छन् ।
मंगलबार बिहानैदेखि राजधानीका विभिन्न स्थानमा युवाहरू सडकमा निस्किँदा सुरक्षा निकायलाई नियन्त्रणमा लिन कठिनाइ भएको छ । प्रदर्शनकारीहरूले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को खुमलटारस्थित निवास घेराउ गर्दै तोडफोड र आगजनी प्रयास गरेका छन् । त्यस्तै सूचना तथा सञ्चारप्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङको निजी निवासमा समेत तोडफोड र आगजनी गरिएको छ ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास नजिकै बालकोट चोकमा प्रदर्शन भइरहेको छ भने कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवास वरिपरिको क्षेत्रमा समेत युवाहरूले प्रदर्शन चर्काएका छन् ।
हिजोमात्र गृहमन्त्री पदबाट राजीनामा दिएका रमेश लेखकको निवासमा समेत प्रदर्शनकारी पुगेका छन् । यस्तै नयाँ बानेश्वर, कलंकी, कोटेश्वर, नैकापलगायतका स्थानमा पनि आन्दोलन निरन्तर जारी छ ।
भ्रष्टाचार नियन्त्रण, नेताहरूको जीवनशैली पारदर्शी बनाउनुपर्ने मागसहित सोमबार सुरु गरिएको आन्दोलनमाथि प्रहरीको गोली प्रहार हुँदा काठमाडौं र सुनसरीमा गरी १९ जनाको मृत्यु भएको थियो भने ४२६ जना घाइते भएका थिए । त्यही घटनापछि प्रदर्शनकारीहरू अझ आक्रोशित बनेका छन् ।

