२४ भदौ, काठमाडौं । राजधानीको कालिमाटी चोकमा जेन–जी युवाहरूको जारी आन्दोलनका क्रममा प्रहरीले गोली चलाउँदा दुई प्रदर्शनकारीको मृत्यु भएको छ ।
सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्धको विरोध कार्यक्रमलाई काबुमा लिन प्रहरीले बल प्रयोग गर्दै गोली चलाएको स्थानीयले बताएका छन् । गोली लागेर गम्भीर घाइते भएका दुई युवालाई अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषित गरेका छन् ।
प्रहरीले भने परिस्थिति नियन्त्रणबाहिर गएपछि बाध्य भएर गोली चलाएको दाबी गरेको छ । घटनास्थलमा अहिले पनि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने वातावरण तनावग्रस्त बनेको छ ।
प्रदर्शनकारीहरूले प्रहरीको दमनकारी रवैयाको विरोध गर्दै अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

