काठमाडौँ – नेपालपछि मोरक्को पनि जेनजीको आन्दोलनले तातिएको छ। पछिल्ला दिनहरूमा राजधानी रबातदेखि व्यापारिक सहर कासाब्लान्का हुँदै देशभरका दर्जनौँ सहरहरूमा युवा नेतृत्वको सरकारविरोधी प्रदर्शन निरन्तर फैलिँदै गएको छ।
बिहीबार मात्रै सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको भिडन्तमा तीन युवाको ज्यान गएको छ । प्रहरीले गोली चलाउँदा चर्किएको तनाव अझै पनि नियन्त्रणमा आउन सकेको छैन। राजधानीसहित प्रमुख सहरका सडकहरू युवाको भीडले भरिएका छन्, जसको मुख्य माग हो– गुणस्तरीय शिक्षा र सुलभ स्वास्थ्य सेवा।
प्रधानमन्त्रीविरुद्ध चर्को आक्रोश
प्रदर्शनकारीहरूले प्रधानमन्त्री अजिज अखान्नोचलाई राजीनामा दिन दबाब दिइरहेका छन्। ‘सरकारलाई हटाऊ’ र ‘जनताले अखान्नोचलाई हटाउन चाहन्छन्’ जस्ता नाराले सडक गुन्जिएका छन्। सहभागीहरूले राजासम्मलाई हस्तक्षेप गर्न आग्रह गरेका छन्।
प्रधानमन्त्री अखान्नोचले पहिलोपटक प्रतिक्रिया दिँदै मृतक परिवारप्रति समवेदना प्रकट गरेका छन्। उनले सुरक्षाकर्मीहरूको भूमिकाको बचाउ गर्दै संवादमार्फत समस्या समाधान गर्न तयार रहेको जनाए।
हिंसात्मक रूप लिएको आन्दोलन
शुरुमा शान्तिपूर्ण रूपमा सुरु भएको प्रदर्शन केही ठाउँमा हिंसामा बदलिएको छ। बैंक लुटिएका, कार जलाइएका र सार्वजनिक सम्पत्ति तोडफोड भएको विवरण सार्वजनिक भएको छ। गृह मन्त्रालयले अगादिर नजिकैको सहरमा भिडन्तमा तीनजनाको मृत्यु भएको र सयौँ घाइते भएको जनाएको छ।
मन्त्रालयको दाबीअनुसार ७० प्रतिशतभन्दा बढी प्रदर्शनकारी नाबालिग छन्। झडपका क्रममा करिब १ हजार बढी पक्राउ परिसकेका छन्, जसमा धेरैजना किशोरहरू छन्।
‘जेनेरेशन जेड २१२’ आन्दोलनको स्वर
‘जेनरेशन जेड २१२’ नामक अनौपचारिक समूहले इन्टरनेट र सामाजिक सञ्जालमार्फत यी प्रदर्शनहरू अघि बढाएको हो। उनीहरूको प्रमुख नारामध्ये एक हो–
‘स्वास्थ्य सेवा पहिले, हामीलाई विश्वकप चाहिँदैन।’
सन् २०३० को विश्वकप आयोजनाका लागि अर्बौँ डलर खर्च भइरहे पनि विद्यालय र अस्पताल दयनीय अवस्थामा रहेको आरोप उनीहरूको छ। हालै एउटा सार्वजनिक अस्पतालमा आठ महिलाको मृत्यु भएपछि स्वास्थ्यप्रति असन्तोष झनै बढेको छ।
सामाजिक असमानताप्रति आक्रोश
मोरक्को आर्थिक प्रगतिको मार्गमा अघि बढिरहेको भए पनि सामाजिक असमानता तीव्र रहेको जनआन्दोलनले देखाएको छ। ग्रामीण क्षेत्रमा शिक्षा–स्वास्थ्यको पहुँच न्यून छ र रोजगारीको अवसरको अभावमा युवा पुस्ता निराश बनेको छ।
आन्दोलनकारीहरूको विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य, शिक्षा र सम्मानजनक जीवनको अधिकार केवल नारा होइन, गम्भीर माग हो।’
अन्तर्राष्ट्रिय सन्दर्भमा मोरक्को
विशेषज्ञहरूले मोरक्कोको आन्दोलनलाई नेपाल, केन्या र मेडागास्करमा देखिएका युवामुखी आन्दोलनसँग तुलना गरेका छन्। यी सबैमा साझा स्वर भनेको भ्रष्टाचारविरुद्धको आक्रोश, असमानता र आधारभूत सेवाको माग हो ।