काठमाडौँ, असोज १७ — “सरकारमा हुनेहरूको बुद्धि पुगेको भए ती बालबालिका, ती युवाहरू आज पनि जीवित हुने थिए,” प्रधानमन्त्री सुशीला कार्कीले भावुक हुँदै भनिन्। विजया दशमीको दिन, राष्ट्रभर उल्लासको रङ चढिरहेको बेला, प्रधानमन्त्री कार्की भने त्यो रङभन्दा पर — शोकमा डुबेका जेन–जी शहीदका परिवारहरूसँग सुखदु:ख साट्दै सहानुभूति बाड्दै थिइन्।
गत भदौ २३ र २४ गतेको जेन–जी पुस्ताको आन्दोलनले देशलाई हल्लाइदियो। आन्दोलनका क्रममा ७६ जना युवाको ज्यान गयो, सयौँ घाइते भए। त्यो दिनहरू राज्यको कमजोरीले र जनआक्रोशको चपेटाले एउटा पुस्ताको भविष्य नै गुमायो।
प्रधानमन्त्री कार्कीले आफू पनि त्यो पीडाबाट अछुतो नरहेको बताउँदै भनिन्,
“दुःखद् घटना भयो। सरकारमा हुनेहरूको बुद्धि नपुगेकै कारण यस्तो भयो। उहाँहरू बच्चा हुन्, उहाँहरूको पढाइ, काम — सबै अधुरो रह्यो। राज्यले मृतकलाई फर्काएर त ल्याउन सक्दैन, तर उठ्नका लागि सहारा दिन सक्छ।”
शहीद परिवारहरूसँग भेटको क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल पनि सहभागी थिए। उनले प्रधानमन्त्रीको भावनालाई दोहोर्याउँदै प्रतिबद्धता जनाए ।
“शहीदहरूको रगतमाथि अन्याय हुन दिइने छैन। उनीहरूले दिएको बलिदानले न्याय पाउनेछ।”
यो वर्षको दशैँ पर्व अझ गहिरो बन्यो। जहाँ सर्वसाधारणले टीका ग्रहण गरेर आफन्तसँग खुसी बाँडिरहेका थिए, प्रधानमन्त्री कार्कीले भने टीका लगाइनन्। न राज्य प्रमुख राष्ट्रपति रामचन्द्र पौडेलले, न पूर्वराजा ज्ञानेन्द्र शाहले — जेन–जी पुस्ताको शोक सबैभन्दा ठूलो थियो।
देशले एउटा चेतावनी पायो — न्यु जिनेरेशनको आवाज बेवास्ता गर्दा कति महँगो मूल्य चुकाउनु पर्छ। अब प्रश्न उठेको छ, के यो बलिदानबाट राज्यले पाठ सिक्छ ?