काठमाडौं । स्पेनिस महारथी बार्सिलोनाले यूएइफए च्याम्पियन्स लिगको यात्रा विजयी सुरुवातसहित थालनी गरेको छ। बिहीबार राति इंग्ल्यान्डको सेन्ट जेम्स पार्क रंगशालामा भएको रोमाञ्चक खेलमा बार्सिलोनाले घरेलु टोली न्युक्यासल युनाइटेडलाई २–१ गोलले पराजित गर्यो।
खेलको नायक बने, इंग्ल्यान्डकै स्ट्राइकर तर अहिले बार्सिलोनाको जर्सीमा चम्किरहेका मार्कस रासफोर्ड। उनले दोस्रो हाफमै दुई गोल गर्दै टोलीलाई महत्वपूर्ण तीन अंक दिलाए।
पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको खेल ५८औं मिनेटमा जीवन्त बन्यो। जुलेस कुन्डेको क्रसलाई रासफोर्डले शान्दार हेडमार्फत पोस्टको कुनामा ठोक्दै अग्रता दिलाए। त्यसको नौ मिनेटपछि उनले बक्स बाहिरबाट झटपट हान्दा बल सिधै जालीभित्र पुग्यो र बार्सिलोनाको अग्रता दोब्बर भयो।
न्युक्यासलले अन्तिम समयमा भने आफ्नो समर्थकलाई खुसी दिलाउने अवसर पाए। निर्धारित ९०औं मिनेटमा एन्टोनी गोर्डनले गोल गर्दै अन्तर घटाए। तर बाँकी समय छोटो भएकाले घरेलु टोलीले बराबरी निकाल्ने मौका गुमायो।
यो जितसँगै बार्सिलोना समूह चरणको प्रारम्भिक खेलमै आत्मविश्वासले भरिएको देखिएको छ भने न्युक्यासल घरेलु मैदानमै हार भोगेपछि दबाबमा परेको छ।

