काठमाडौँ, ३ असोज – संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ आज देशभर विभिन्न कार्यक्रमसहित मनाइँदैछ। राजधानीको टुँडिखेलस्थित सैनिक मञ्चमा बिहान ८ः३० बजे शुरु भएको छ । मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख आतिथिका रुपमा सहभागी हुनुहुन्छ ।
समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने तय भएको छ। तर, वर्तमान राजनीतिक संवेदनशीलतालाई ध्यानमा राख्दै यस वर्ष झाँकीलगायत सांस्कृतिक कार्यक्रम भने रोकिएको छ।
नेपालको संविधान २०७२ असोज ३ गते संविधानसभाबाट घोषणा गरिएको स्मृतिमा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ। लामो राजनीतिक संघर्ष, जनआन्दोलन र बलिदानीपूर्ण यात्रापछि प्राप्त उपलब्धिको प्रतीकका रूपमा संविधानलाई ऐतिहासिक मानिन्छ।
सन् २०१३ मा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनपछि गठित संविधानसभाले धेरै विवाद र छलफल पार गर्दै अन्ततः ‘नेपालको संविधान, २०७२’ तयार गरेको थियो। सोही संविधान तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले २०७२ असोज ३ गते राति नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा घोषणा गरेका थिए।