काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बिहिबार भक्तपुरको गुण्डुमा बसाइँ सरेका छन्।
भदौ २४ गते ‘जेनजी’ आन्दोलनकै बीच प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि नेपाली सेनाको सुरक्षा घेरामा रहेका ओली बिहिबारदेखि सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित एक भाडाको घरमा बस्ने भएका हुन्। उनका पुरानो बालकोटस्थित निवासलाई प्रदर्शनकारीले तोडफोड तथा आगजनी गरेपछि नयाँ वासस्थान खोजिएको हो।
गुण्डुस्थित घरमा हिजै पार्टी महासचिव शङ्कर पोखरेल, सचिव भानुभक्त ढकाल, महेश बस्नेत तथा भक्तपुर जिल्ला अध्यक्ष बचन देउजालगायतले भेट गरेका थिए।
संविधान दिवसको अवसरमा आज शुक्रबार एमालेले च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गर्न लागेको कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको पार्टीले जनाएको छ।