काठमाडौं ।
नेपाली कांग्रेस नेतृ डा. डिला संगौलाले संविधान दिवसको अवसरमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै जेन जीसहित सम्पूर्ण शहीदहरूको बलिदान व्यर्थ जान नदिन संविधानकै मार्ग अवलम्बन गर्नुपर्ने धारणा राखेकी छन्।
उनले भन्नुभयो, “संविधान एक जीवन्त दस्तावेज हो। नेपालमा दशकौँ लामो संघर्ष र बलिदानपछि जननिर्वाचित संविधानसभाद्वारा संविधान बनेको आज १० वर्ष पुगेको छ। यस अवधिमा सामाजिक तथा आर्थिक सूचकहरूका साथै मानव अधिकार क्षेत्रमा उल्लेख्य प्रगति भएको छ। तर, भ्रष्टाचार नियन्त्रण गर्न र पर्याप्त रोजगारी सिर्जना गर्न सकिएन। हुने खाने र हुँदा खानेबीचको खाडल अझै बढेको छ।”
जेन जी आन्दोलनलाई नेपालको नयाँ पुस्ताको ऐतिहासिक चेतना भन्दै संगौलाले संविधानकै चौकटीभित्र उनीहरूले उठाएका मुद्दाहरूलाई सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याइन्। उनका अनुसार अब मुलुकलाई स्थायित्व, न्याय र समृद्धितर्फ अघि बढाउन यही संविधानलाई आधार मान्दै सुधार र कार्यान्वयनमा जोड दिनुपर्छ।
कांग्रेसले विगतका कमजोरी सच्याउँदै नयाँ भिजन र कार्यक्रम सहित जनतामाझ पुग्नुपर्ने उनको सुझाव छ। “अर्को विकल्प खोज्नु हुँदैन, संविधानलाई नै कार्यान्वयन गरेर अघि बढ्नुपर्छ,” संगौलाले स्पष्ट पारिन्।
संविधान दिवसका अवसरमा उनले जेन जीसहित सम्पूर्ण शहीदहरूलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरिन्।