काठमाडौँ । भद्रकालीस्थित जंगीअड्डामा बुधबार साँझ जेनजी समूहका प्रतिनिधि र नेपाली सेनाबीच भएको वार्तामा नेतृत्वको विषय प्रमुख एजेन्डा बनेको छ।
वार्तामा सहभागी जेनजी युवाहरूले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम नेतृत्वका लागि अगाडि आएकोमा असन्तुष्टि जनाएका छन्। उनीहरूले नयाँ पुस्ताको नेतृत्व आवश्यक रहेको बताउँदै काठमाडौँ महानगर प्रमुख बालेन शाह र धरानका मेयर हर्क साम्पाङलाई अगाडि ल्याउनुपर्ने माग राखेका हुन्।
जेनजीका प्रतिनिधिहरूले परम्परागत राजनीतिक नेतृत्वप्रति असहमति प्रकट गर्दै, युवापुस्ताको हातमा नेतृत्व दिनुपर्नेमा जोड दिएका छन्। वार्ता अझै विभिन्न चरणमा जारी रहेको र आन्तरिक छलफलपछि मात्र ठोस निष्कर्षमा पुग्ने बताइएको छ।
नेतृत्वबारे एकमत भएपछि मात्र जेनजी समूहले राष्ट्रपतिसँग औपचारिक वार्ता गर्ने तयारी गरेको स्रोतले जानकारी दिएको छ।

