काठमाडौँ ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले चीनको ग्वाञ्जाओमा सिधा उडान सुरु गर्ने भएको छ । निगमले पहिलोपटक काठमाडौँ–ग्वाञ्जाओ–काठमाडौँ मार्गमा असोज ९ गतेदेखि नियमित उडान भर्ने तयारी पूरा गरेको हो ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीका अनुसार ग्वाञ्जाओ उडानका लागि प्राविधिक तथा प्रशासनिक सम्पूर्ण प्रक्रिया पूरा भइसकेको छ । निगमले चीनबाट अनुमति पनि प्राप्त गरिसकेको छ । निगमले पहिलो उडान असोज ९ गते गर्नेछ भने दोस्रो असोज १२ गते, त्यसपछि असोज ३०, कात्तिक २ र ६ गते उडान गर्ने तालिका सार्वजनिक गरिएको छ । त्यसपश्चात प्रत्येक आइतबार, मङ्गलबार र शनिबार काठमाडौँ–ग्वाञ्जाओमार्गमा नियमित उडान हुने बताइएको छ ।
यस उडानको भाडादर काठमाडौँ–ग्वाञ्जाओ एकतर्फी ३० हजार र दोहोरो टिकट ५० हजार रुपैयाँ तोकिएको छ । अधिकारीका अनुसार लामो प्रयासपछि चीनको यस महत्त्वपूर्ण व्यापारिक शहरमा उडान विस्तार गर्न सफल भएको निगमले निकट भविष्यमै दक्षिण कोरिया र अष्ट्रेलियातर्फ पनि सिधा उडान सुरु गर्ने तयारी गरिरहेको छ ।
हाल ग्वाञ्जाओ मार्गमा चाइना साउदर्न एयरलाइन्स र हिमालय एयरलाइन्सले नियमित उडान भर्दै आएका छन् । नेपालीको बाक्लो उपस्थिति रहेको यस गन्तव्यले नेपाल एयरलाइन्सलाई आर्थिक रूपमा फाइदा पुग्ने अनुमान गरिएको छ ।
ग्वाञ्जाओ उडान थपिएसँगै नेपाल एयरलाइन्सको अन्तरराष्ट्रिय गन्तव्य ११ पुगेको छ । निगमले हाल दुई वाइडबडी र दुई न्यारोबडी जहाजमार्फत दोहा, क्वालालम्पुर, दुबई, हङकङ, दिल्ली, मुम्बई, बैङ्गलुरु, बैङ्कक, दमाम र टोकियो नारिता हुँदै अन्तरराष्ट्रिय उडान गरिरहेको छ ।
निगमले राष्ट्रिय ध्वजावाहकको रुपमा अन्तरराष्ट्रिय उडानलाई देशको शान, पहिचान र कूटनीतिक सम्बन्ध विस्तारसँगै पर्यटक भित्र्याउने ऐतिहासिक दायित्वका रूपमा निरन्तरता दिने जनाएको छ ।