काठमाडौँ । भक्तपुर नगरपालिका-७ को महेश्वरी खेल मैदानमा शनिबारदेखि दोस्रो भक्तपुर दसैँ सस्तो व्यापार मेला सुरु भएको छ । नेपालीहरूको महान् पर्व दसैँको अवसरमा एकैथलोबाट सस्तो, सुलभ र गुणस्तरीय सामान आमउपभोक्तामा पुर्याउने उद्देश्यले औद्योगिक मेला महोत्सव प्रतिष्ठान नेपालले मेलाको आयोजना गरेको हो ।
मेलाका संयोजक सङ्गम लामाले व्यापार मेलामा ५० भन्दा बढी स्टलहरू राखिएका जानकारी दिए । दैनिक जीवनमा प्रयोगमा आउने सामग्रीहरू लत्ताकपडा, खाद्यान्न, अटोमोबाइल, जुत्ताचप्पल तथा हस्तकलाका सामग्री, कृषि औजारका सामग्री, फूललगायत विभिन्न सामान विशेष छुटका साथ बिक्रीमा राखिएका आयोजकले जनाएका छन् ।
मनोरञ्जनका लागि महोत्सवमा बाल उद्यान, रोटे पिङ, ड्रागन, डुंगा, मिनी बन्जी जम्प, वाटर बल्ब, मिकी माउस, टेम्पालिङ, स्करपियोका साथै हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारका हास्यव्यङ्ग्य, गीत र नृत्यको प्रस्तुति रहने उनले जानकारी दिए।
संयोजक लामाका अनुसार व्यापार मेला असोज १९ गतेसम्म सञ्चालन हुनेछ ।