काठमाडौं । फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपजस्ता लोकप्रिय सामाजिक सञ्जाल सञ्चालक मेटा कम्पनी नेपाल सरकारसँग सम्पर्कमा आएको छ ।
बिहीबार मात्र सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो । सो निर्देशनपछि सिंगापुरस्थित मेटाका प्रतिनिधिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग सम्पर्क गरी नेपालमा दर्ताका लागि आवश्यक प्रक्रिया र कागजातबारे जानकारी लिएका हुन् ।
मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार मेटाका प्रतिनिधिले मन्त्री पृथ्वी सुब्बा गुरुङका सल्लाहकार शालिग्राम पराजुलीमार्फत अनौपचारिक रूपमा सरकारको निर्णयबारे जिज्ञासा राखेका थिए ।
‘हामीले उनको इमेल माग्यौँ र नेपाल सरकारले गर्न लागेको व्यवस्थाबारे विस्तृत जानकारी पठाइसकेका छौँ,’ प्रवक्ता ठाकुरले बताए, ‘अब छिट्टै दर्ता हुने संकेत पाइएको छ ।’
मन्त्रालयले नेपालमा दर्ता नभएका २६ सामाजिक सञ्जाल र ओटीटी प्लेटफर्म दर्ता नगरी सञ्चालन नगर्न निर्देशन दिइसकेको छ ।

