दर्ता नभएका सामाजिक सञ्जाल नेपालभर निष्क्रिय
काठमाडौं, भदौ २० ।
नेपालका दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले दर्ता नभएका सामाजिक सञ्जाललाई निष्क्रिय पारेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको पत्र र सर्वोच्च अदालतको आदेशसँगै नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाल टेलिकम र एनसेलले आजदेखि यस्ता सामाजिक सञ्जाल बन्द गरेका हुन् ।
नेपाल टेलिकमले एक सूचनामार्फत नेपालमा सूचीकरणबिनै सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई हालका लागि निष्क्रिय गरिएको जनाएको छ । कम्पनीका अनुसार प्राधिकरणको निर्देशनअनुसार अनिवार्य रूपमा सेवा बन्द गरिएको हो ।
त्यस्तै, एनसेलले पनि आफ्ना प्रयोगकर्तालाई जानकारी दिँदै नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल आफ्नो नेटवर्कमा बन्द गरिएको जनाएको छ ।
प्राधिकरणले बिहीबार पत्राचार गर्दै २६ वटा सामाजिक सञ्जाल प्लेटफर्म निष्क्रिय गराउन आग्रह गरेको थियो । त्यसमा फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएपलगायत लोकप्रिय प्लेटफर्मसमेत परेका छन् ।

