काठमाडौँ ।
नेपाली कांग्रेसकी नेतृ डा. डिला सङ्ग्रौलाले सरकारले फेसबुकसहितका सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलाई अपरिपक्व र गलत भनेकी छन्।
उनका अनुसार यस्ता कदमहरूले नेपालको संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको हक कुण्ठित हुन्छ र नागरिकलाई सूचना पाउने अधिकारबाट वञ्चित गरिन्छ।
“आजको २१औं शताब्दीमा सामाजिक सञ्जाल जनजीवनको अभिन्न अंग भइसकेको छ। यसले आम जनसमुदायलाई सशक्त बनाएको छ,” नेतृ सङ्ग्रौलाले भनिन्, “अनुगमनका लागि संयन्त्र र कानुन हुँदाहुँदै सामाजिक सञ्जाल हठात् बन्द गर्नु विवेकसम्मत हुँदैन।”
उनले हाल राष्ट्रिय सभामा विचाराधीन रहेको विधेयकमाथि छलफल गरी छिटो उपयुक्त कानुन बनाउन सरकारलाई आग्रह गरिन्। गठबन्धन सरकार सञ्चालन गर्दा सबै दलसँग पर्याप्त छलफल गरेर मात्रै निष्कर्षमा पुग्नुपर्ने उल्लेख गर्दै उनले पर्याप्त छलफल बिना गरिएका निर्णयले सरकारको छविमाथि नै धक्का पुग्ने बताइन्।
सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमाथि तत्काल पुनर्विचार गर्न नेतृ सङ्ग्रौलाले सरकारलाई आग्रह गरेकी छन्।

