काठमाडौँ ।
नेपाल सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत नभएका सामाजिक सञ्जाल प्लाटफर्महरूमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ। बिहीबार मन्त्रालयमा बसेको उच्चस्तरीय बैठकले यस्तो निर्णय गरेको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा बसेको बैठकमा मन्त्रालयका अधिकारीहरू, नेपाल दूरसञ्चार प्राधिकरण, टेलिकम अपरेटर तथा इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधिहरू सहभागी थिए।
बैठकमा सहभागी एक अधिकारीका अनुसार आज रातिदेखि नै सूचीकृत नभएका सबै सामाजिक सञ्जाल प्लाटफर्म निषेधित हुनेछन्। मन्त्रालयले सम्बन्धित कम्पनीलाई पत्र पठाउने तयारीसमेत गरेको छ।
यसअघि सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई सात दिनभित्र अनिवार्य रूपमा सूचीकृत हुन निर्देशन दिएको थियो, तर बुधबार राति उक्त समयसीमा सकिए पनि मेटा, अल्फाबेट, एक्स (पूर्व ट्विटर), रेडिट, लिंक्डइनजस्ता ठूला कम्पनीहरूले दर्ता प्रक्रिया अघि बढाएका छैनन्।
निर्देशन पालना नगर्ने प्लाटफर्मलाई क्रमशः निष्क्रिय पार्ने चेतावनी सरकारले पहिले नै दिएको थियो। यस निर्णयसँगै नेपालमा लोकप्रिय सामाजिक सञ्जाल सेवाहरू अवरुद्ध हुने सम्भावना थप बढेको छ।

