काठमाडौं । नेपाली कन्टेन्ट क्रिएटरका लागि फेसबुकमार्फत आम्दानी गर्ने बाटो अब आधिकारिक रूपमा खुलेको छ। फेसबुककी मातृ कम्पनी मेटा ले नेपालमा कन्टेन्ट मनिटाइजेशन सेवा सञ्चालनमा ल्याएको जानकारी दिएको छ। कम्पनीले नेपाली प्रयोगकर्तालाई इमेल पठाउँदै सेवा अब नेपालमै उपलब्ध भएको पुष्टि गरेको हो।
यससँगै नेपाली क्रिएटरहरूले आफ्ना भिडियो वा पोस्टमार्फत कमाएको आम्दानी नेपालकै बैंक खातामा सजिलै लिन सक्ने भएका छन्। कन्टेन्ट क्रिएटर राजेन्द्र अर्यालका अनुसार, मेटा टिमले नेपालमा सेवा सुरू भएको औपचारिक जानकारी दिएको हो। उनले भने, “अब पेआउट अकाउन्ट सेट गर्दा नेपाल छान्न मिल्छ, बैंक विवरण हाल्न मिल्छ। यसअघि पनि पैसा आइरहेको थियो, तर अहिले प्रक्रिया थप सजिलो र सुरक्षित भएको छ।”
पहिले विभिन्न तरिकाले खाता लिंक गरेर मात्रै पैसा निकाल्न सकिने अवस्था थियो। तर, मेटाले सेवा औपचारिक रूपमा उपलब्ध गराएपछि अब क्रिएटरहरूले ढुक्क भएर आफ्नै बैंक खातामार्फत कमाइ लिन सक्ने भएका छन्।
फेसबुकले अघिसम्म इनस्ट्रिम एड्स, एड्स अन रिल्स र पर्फर्मेन्स बोनस जस्ता अलग-अलग योजनामार्फत क्रिएटरलाई भुक्तानी गर्दै आएको थियो। तर, भदौ १५ (अगस्ट ३१) देखि यी कार्यक्रमहरू स्थायी रूपमा बन्द गर्दै सबै सुविधालाई फेसबुक कन्टेन्ट मनिटाइजेशन नामक एकीकृत संरचनामा ल्याइएको छ।
यसले नेपालमा रहेका कन्टेन्ट क्रिएटरलाई डिजिटल आम्दानीको नयाँ सम्भावना र विश्वस्तरको अवसर प्रदान गर्ने विश्वास गरिएको छ।

