काठमाडौँ । सभामुख घिमिरे संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्च अदालत जाने गृहकार्यमा जुटेका छन्।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीलाई तीव्र बनाउँदै सभामुख देवराज घिमिरेले आज प्रमुख राजनीतिक दलहरूसँग निर्णायक छलफल गर्ने भएका छन् ।
सोही सन्दर्भमा उनले विघटित संसद् पुनःस्थापनाबारे दलहरूको धारणा बुझ्न छलफल अघि बढाएका हुन्।
घिमिरेले बुधबार बिहान ९ बजेका लागि ११ राजनीतिक दलहरूलाई सभामुख निवासमा छलफलका लागि आमन्त्रण गरेका छन्।
छलफलका लागि बोलाइएका दलहरूमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा (एकीकृत समाजवादी) प्रमुख छन्।
जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, जसपा नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टीलाई पनि छलफलमा बोलाईएको छ ।
विघटित संसदमा उपस्थित राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र आमजनता पार्टीलाई भने बैठकमा बोलाइएको छैन।
सभामुखले प्रतिनिधिसभा विघटन हुनुअघिका प्रमुख सचेतकहरूलाई पनि छलफलमा समावेश गरेका छन्।
संसद् पुनर्स्थापनाको माग लिएर सभामुख सर्वोच्च अदालतमा जानुपर्ने हो कि होइन भन्ने विषयमा आजको बैठकमा विस्तृत बहस हुने सभामुख सचिवालयले जनाएको छ।
सभामुख घिमिरेले सहभागी दलहरूलाई संसद् विघटनसम्बन्धी पार्टीको आधिकारिक धारणा लिएर आउन अनुरोध गरेका छन्।