काठमाडौं । प्यालेस्टाइनी लडाकु समूह हमासद्वारा सोमबार साँझ हस्तान्तरित शव नेपाली विद्यार्थी विपीन जोशीको रहेको इजरायली सेनाले पुष्टि गरेको छ । हमासले फिर्ता गरेका चार जना बन्धकमध्ये एक बिपिन र अर्काे इजरायली नागरिक गाइ इलुजको शव भएकाे मङ्गलबार खुलेकाे हाे ।
अन्य दुई बन्धकको नाम भने परिवारको अनुरोधमा हाललाई सार्वजनिक गरिएको छैन ।
२२ वर्षीय विपीन हमासको आक्रमण हुनुभन्दा तीन हप्ताअघि मात्र कृषि तालिमका लागि इजरायल पुगेका थिए । उनी किबुट्ज अलुमिममा रहेका बेला अपहरणमा परेका थिए । आक्रमण हुनुअघि उनले त्यहाँका थाई कामदारहरूसँग शरण लिएको एउटा तस्बिर सार्वजनिक भएको थियो । इजरायली सेनाका अनुसार युद्धको शुरुवाती महिनाहरूमा कैदमै उनको हत्या गरिएको अनुमान छ ।
जोशीका सहपाठी हिमाञ्चल कट्टेलले एएफपीसँगको कुराकानीमा आक्रमणका क्रममा आतङ्ककारीहरूले उनीहरू लुकेका आश्रयमा ग्फ्याँकेको ग्रिनेड जोशीले समातेर विस्फोट हुनुअघि बाहिर फ्याँकिदिएको बताए । “उहाँको वीरताले मेरो ज्यान बचायो”, कट्टेलले भावुक हुँदै भने ।
होस्टेजेस एन्ड मिसिङ फेमिलिज फोरम नामक मुख्य इजरायली समूहले विज्ञप्ति जारी गर्दै भनेको छ, “गाइ र विपीनको पुनरागमनले दुई वर्षभन्दा बढी समयदेखि पीडादायी अनिश्चिततामा बाँचिरहेका परिवारहरूलाई केही हदसम्म सान्त्वना दिएको छ । तर हामी सबै २४ जना बन्धक घर फर्किएसम्म आराम गर्नेछैनौँ ।”
हमासले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा सम्पन्न युद्धविराम सम्झौताको एक अङ्गका रूपमा सबै २० जना जीवित बन्धक रिहा गरेसँगै चार शव फिर्ता गरेको थियो । प्यालेस्टिनी लडाकूहरूका हातमा अझै २४ जना बन्धकका शव रहेका छन् । ती शवलाई पनि युद्धविराम सम्झौताका सर्तअनुसार निकट भविष्यमा फिर्ता गरिने अपेक्षा गरिएको छ ।
विपिनको निधनबाट राष्ट्रपति पौडेल मर्माहत !
राष्ट्रपति रामचन्द्र पौडेलले सिक्दै र कमाउँदै कार्यक्रममा सहभागी हुन इजरायल गएका नेपाली विद्यार्थी विपिन जोशीको निधनको खबरले आफू मर्माहत भएको बताएका छन् ।
उनले सामाजिक सञ्जाल ‘एक्स’मार्फत प्यालेस्टिनी समूह हमासको कब्जामा रहेका जोशीको रिहाइको लागि आफूले समेत पटकपटक अथक प्रयास गरेको स्मरण गर्दै अकस्मात् जोशीको निधन भएको खबरले स्तब्ध भएको उल्लेख गरेका छन् ।
राष्ट्रपति पौडेलले जोशीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दुःखको यस घडीमा शोकाकूल परिवारजन र सबै शुभेच्छुकमा समवेदना प्रकट गरेका छन् ।