काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले विस्तृत कार्यतालिका स्वीकृत गरेको छ। आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा निर्वाचनका सबै चरणको मिति स्पष्ट गरिएको छ।
स्वीकृत कार्यतालिकाअनुसार आगामी मङ्सिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता कार्यक्रम सञ्चालन हुनेछ। आयोगमा दर्ता कायम रहेका दलले मात्रै निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न पाउने व्यवस्था गरिएको छ। त्यसका लागि इच्छुक दलहरूले कात्तिक ३० गतेभित्र राजनीतिक दल दर्ताको प्रमाणपत्र लिनुपर्ने आयोगले जनाएको छ।
समानुपातिक निर्वाचन प्रणालीका लागि निर्वाचन अधिकृतको कार्यालय मङ्सिर १५ गते स्थापनासँगै प्रक्रिया सुरु हुनेछ। त्यसपछि पुस १८ र १९ गते बन्दसूची पेस गर्ने कार्यक्रम तय गरिएको छ।
त्यस्तै, पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि निर्वाचन अधिकृतको कार्यालय माघ २ गतेदेखि स्थापना हुनेछ।
निर्वाचन प्रचार–प्रसारको समयावधि फागुन ३ देखि १८ गतेसम्म निर्धारण गरिएको छ भने त्यसपछि ‘मौन अवधि’ लागू हुनेछ।
मतदान फागुन २१ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म हुनेछ। दुवै निर्वाचन प्रणालीका मतपेटिका सङ्कलन भएपछि मतगणना सुरु गरिने आयोगले जनाएको छ।
आयोगले स्वीकृत कार्यतालिकाअनुसार राजनीतिक दल र सरोकारवालासँग आवश्यक समन्वय तथा परामर्श गर्ने बताएको छ।