सोलुखुम्बु। सगरमाथा क्षेत्रमा असोज महिनामै परेको अप्रत्याशित हिमपातले खुम्बु क्षेत्रको जनजीवन र पर्यटन गतिविधि प्रभावित बनेको छन्।
सामान्यतया मङ्सिरदेखि माघसम्म मात्र बाक्लो हिमपात हुने यस क्षेत्रमा यस वर्ष असोजको तेस्रो सातामै हिउँ परेपछि नाम्चेबजारदेखि गोक्यो, दिङ्बोचे र फोर्चेसम्मको बाटो सेताम्य भएको छ।
गत आइतबार बिहानदेखि सुरु भएको भारी वर्षापछि खुम्बु पासाङल्हामु गाउँपालिकाको नाम्चेभन्दा माथिल्लो क्षेत्रमा बाक्लो हिउँ परेको छ । लगातारको वर्षा र हिमपातले दिङ्बोचे, लाबुचे, फेरेचे र गोक्यो क्षेत्र श्वेत चादरले ढाकिएका छन्।
गाउँपालिका–४ का अध्यक्ष लक्ष्मण अधिकारीका अनुसार माथिल्लो क्षेत्रमा चार फिटभन्दा बढी हिउँ जमेको छ। ‘हिमपातले पाँच वटा होटलको छाना भास्सिएका छन्, मानवीय क्षति भने छैन,’ उनले बताए।
जिल्ला प्रहरी कार्यालयका डीएसपी मनोजित कुँवरले पनि हिउँको भार र लगातारको वर्षाले होटलका जस्ताका छानाहरू भत्किएको र आर्थिक क्षति भएको पुष्टि गरे।
जलवायु परिवर्तनको संकेत
सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)का अध्यक्ष लामाकाजी शेर्पाका अनुसार असोजमा हिउँ पर्नु अत्यन्त दुर्लभ घटना हो।
‘यो असामान्य मौसमी परिवर्तन जलवायु परिवर्तनको संकेत हो,’ उनले भने, ‘पहिले निश्चित समयमा हिउँ पर्थ्यो र पग्लिन्थ्यो, अहिले त्यो तालमेल हराएको छ।’
वातावरणविद्हरूका अनुसार पछिल्ला वर्षहरूमा हिमाली क्षेत्रमा तापक्रम वृद्धि र वर्षाको असन्तुलनका कारण हिमपातको स्वरूप परिवर्तन भएको छ — कहिले असोजमै बाक्लो हिउँ पर्ने, कहिले माघमा पनि हिउँ नपर्ने।
स्थानीय जीवन र कामकाजमा असर
हिमपातपछि खुम्बुका स्थानीय बासिन्दाको दैनिक जीवन सुस्त बनेको छ। हिउँ पग्लिन थाले पनि चिसो बढेको र कामकाज प्रभावित भएको स्थानीय ल्हाक्पा ग्याल्जेन शेर्पाले बताए।
खुम्बुमा निर्माणाधीन आमा दब्बलङ्ग जलविद्युत् आयोजनाको काम समेत अस्थायी रूपमा रोकिएको छ। वडाध्यक्ष अधिकारीका अनुसार चिसोका कारण कामदारहरू नाम्चे झरेका छन् र मौसम सामान्य भएपछि मात्रै काम पुनः सुरु हुनेछ।
पर्यटन व्यवसायी चिन्तित
शरद् ऋतु सुरुसँगै पर्यटन यामको मुख्य सिजन मानिने खुम्बु क्षेत्रमा हिमपातले यात्रु र व्यापारी दुवै प्रभावित भएका छन्।
‘पहिले असोजदेखि मङ्सिरसम्म पर्यटकहरूको भीड हुन्थ्यो, अहिले हिमपातले बाटो बन्द हुने, उडान रद्द हुने, होटल खाली हुने समस्या बढेको छ,’ स्थानीय व्यवसायी तोयकुमार श्रेष्ठले भने।