म्याग्दी। रघुगङ्गा गाउँपालिका–२ सिरुवारीमा आएको ठूलो पहिरोका कारण बेनी–जोमसोम–कोरला सडक खण्डमा यातायात अवरुद्ध भएको छ।
कालीगण्डकी कोरिडोरअन्तर्गतको यो सडक हिमालपारिको मुस्ताङ जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने प्रमुख मार्ग हो, जसले नेपाललाई भारत र चीनसँग जोड्ने सम्भावना बोकेको छ।
स्थानीयका अनुसार कालीगण्डकी नदीको तिरदेखि भगवतिको माझखर्कसम्मको जमिन धाँजा फाटेर खसेपछि बीचको सडक पुरिँदै जोखिमपूर्ण बनेको छ।
यातायात व्यवसायी भोजबहादुर थापाले भने, “सामान्य वर्षा हुदा पनि यहाँ सडक हिलाम्मे र साँघुरो बन्छ, माथिबाट ढुङ्गा खस्ने खतरा हुन्छ। अहिले पनि यात्रुहरूलाई जोखिम मोलेर यात्रा गर्नुपरेको छ।”
सडकको मुनि कालीगण्डकी नदी बगिरहेको र माथिबाट करिब ८०० मिटर लामो तथा २०० मिटर चौडाइको भूभाग पहिरोमा परिणत भएको जनाइएको छ।
माझखर्क बस्ती पनि पहिरोको जोखिममा परेको छ। ठूलो कन्टेनरदेखि साधारण बससम्म सबै सवारी यही बाटो प्रयोग गर्ने भएकाले आवतजावत पूर्णरूपमा प्रभावित भएको हो।
रघुगङ्गा गाउँपालिका–१ का वडा सदस्य बलमान गौचनका अनुसार साँघुरो सडकका कारण पहिरो क्षेत्रबाट दुईतर्फी यातायात सञ्चालन गर्न सकिँदैन।
“मुस्ताङ जाने गाडीहरू सिरुवारीमै फसिरहेका छन्,” उनले भने, “सडक साँघुरो हुँदा जाम हुने र माथिबाट ढुङ्गा खस्ने खतरा रहन्छ।”
बेनी–जोमसोम सडक योजनाका इञ्जिनियर विष्णु चापागाईंका अनुसार पहिरो नजिकै डोजर र लोडर तयारी अवस्थामा राखिएको छ।
“बर्खायामभर पहिरो पन्छाउँदै सडक खुलाउने काम भइरहेको छ,” उनले भने, “बर्षा रोकिएपछि ठूला मर्मत र सरसफाइको काम सुरु हुनेछ।”
उनका अनुसार सिरुवारीको ठूलो पहिरो रोकथामका लागि अध्ययन भइरहेको र तत्कालका लागि अस्थायी मर्मतमार्फत गाडी चलाउने व्यवस्था गरिएको छ।
योजनाले यसै सडकखण्डमा पर्ने चमेरे, बैसरी, गुइठेभिर, लाटाखोला र रुप्से क्षेत्रका पहिरो प्रभावित भागमा ढलान गर्ने ठेक्का सम्झौताको तयारी पनि गरेको छ।