काठमाडौँ। अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल बढाउन सरकार निरन्तर प्रयासरत रहेको बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालसँग सोमबार भएको भेटवार्तामा मन्त्री खनालले निजी क्षेत्रलाई अनुकूल वातावरण सृजना गर्न सरकार गम्भीर रहेको धारणा व्यक्त गरेका हुन् ।
उनले पुनर्निर्माणका लागि राजस्व छुट, बैंकिङ सहुलियत र बिमा प्रणालीमा सहजीकरणका कार्यक्रम सरकारबाट अघि बढाइएको उल्लेख गरे।
खनालका अनुसार सरकारले भन्सारको सन्दर्भ मूल्य खारेज गरी ‘अनलाइन डेटाबेस प्रणाली’ लागू गरेको छ, जसले बजारमा पारदर्शी कारोबारलाई प्रवर्द्धन गर्नेछ। यही असोज ९ गते उद्घाटन गरिएको उक्त प्रणालीले हरेक छ महिनामा सन्दर्भ पुस्तिकाको परिमार्जनमा देखिने व्यवसायीको गुनासो सम्बोधन गर्ने अपेक्षा गरिएको छ।
भन्सारमा जाँचपास भएका सबै वस्तुको मूल्य विवरण उक्त डिजिटल डेटाबेसमा सङ्ग्रह गरिनेछ। यसले वस्तुको मूल्य पहिचान, तुलना र विश्लेषण गर्न सहयोग पुर्याउने र कारोबारमा पारदर्शिता ल्याउने उद्देश्य राखिएको छ।
निजी क्षेत्रका तीनै संस्थाका अध्यक्षहरूले सरकारको यो कदमको स्वागत गरेका छन्। उनीहरूले आफ्ना सदस्य तथा उद्यमी व्यवसायीलाई नयाँ प्रणालीको सक्रिय उपयोग गर्न आग्रह गरेका छन्।
त्यसै अवसरमा निजी क्षेत्रका प्रतिनिधिहरूले पछिल्ला ‘जेनजी प्रदर्शन’का क्रममा व्यापारिक प्रतिष्ठानमाथि भएको तोडफोड, लुटपाट र आगजनीमा संलग्नहरूलाई कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।
‘दोषीमाथि छानबिन र कारबाही नभए निजी क्षेत्र थप निरुत्साहित हुनेछ,’ उनीहरूको भनाइ छ।