काठमाण्डौ । वर्षासँगै गएको बाढीपहिरोको कारण देशका विभिन्न राजमार्ग तथा सडक अझै अवरुद्ध छन्। नेपाल सरकार, विभिन्न प्रदेश सरकार एवम् सम्बन्धित स्थानीय निकायले तदारुकता देखाएर अवरुद्ध सडक खोल्ने प्रयास गरेता पनि अझै सम्पूर्ण सडक पूर्ण रुपमा सञ्चालनमा आउन सकेका छैनन् ।
पासाङ ल्हामु राजमार्गमा पर्ने रसुवाको गोसाईँकुण्ड गाउँपालिका-२ स्थित घट्टेखोला, बालुवाखानी र तातोपानीमा खसेको पहिरोको कारण यातायात अवरुद्ध रहेको नेपाल प्रहरीले जनाएको छ।
बीपी राजमार्गमा पर्ने काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ११ माम्तीखोला, बुलढुंगा र डालावेसीमा पहिरोका कारण आवतजावत बन्द छ। यस्तै कोशी राजमार्गमा पर्ने सङ्खुवासभाको मकालु गाउँपालिका-३ एकुवा र भोटखोला गाउँपालिका- ४ बरूणमा खसेको पहिरोका कारण सवारी साधन चल्न सकेका छैनन्।
रसुवाको गोसाईँकुण्ड गाउँपालिका २ रसुवागढी स्थित नेपाल र चीन नाका जोड्ने मितेरी पुलमा गत असार २४ गते आएको बाढीले क्षति पुर्याएकाले सवारी आवागमन अवरुद्ध छ।