काठमाडौँ। नेपालमा मनसुनी वायुको प्रभाव क्रमशः कमजोर हुँदै गएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तर, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थानमा तथा गण्डकी प्रदेशको पश्चिमी भूभागका केही स्थानमा पश्चिमी वायुको प्रभाव अझै कायम रहेको उल्लेख गरिएको छ।
महाशाखाले जारी गरेको पछिल्लो मौसम बुलेटिनका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बाँकी पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने तराईका क्षेत्रमा आंशिक बदलीको अवस्था रहनेछ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राति पनि कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै अन्य पहाडी भूभागमा साधारणतया बदली रहने र केही स्थानमा मेघगर्जनसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। तर, बाँकी तराई भूभागमा आंशिक बदली मात्र रहने सम्भावना छ।