काठमाण्डौ । भारतका प्रधानन्यायाधीश बी.आर. गवईमाथि सोमबार बिहान सर्वोच्च अदालतभित्रै जुत्ता प्रहार भएको छ।
७१ वर्षका अधिवक्ता राकेश किशोरले कारबाहीको क्रममा आफ्नो जुत्ता निकालेर प्रधानन्यायाधीशतर्फ फ्याँकेका थिए। भारतीय सञ्चार माध्यमका अनुसार, दिल्ली प्रहरीले उनलाई तत्काल नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।
घटना बिहान करिब ११:३५ बजे सर्वोच्च अदालतको कोठा नं. १ मा भएको हो। प्रहरीका अनुसार किशोर दिल्लीको मायूर विहार क्षेत्रका बासिन्दा हुन् र सर्वोच्च अदालत बार एशोसिएशनका सदस्य पनि हुन्।
स्रोतका अनुसार, अधिवक्ता किशोरले प्रधानन्यायाधीश गवईले हालै मध्यप्रदेशको खजुराहो मन्दिर परिसरमा भगवान् विष्णुको भग्न मूर्ति पुनर्स्थापना सम्बन्धी मुद्दाको सुनुवाइमा दिएको टिप्पणीप्रति असन्तुष्टि जनाउँदै जुत्ता प्रहार गरेका हुन्।
प्रहारपश्चात पनि प्रधानन्यायाधीश गवई पूर्ण रूपमा शान्त देखिएका थिए। उनले उपस्थित वकिलहरूलाई सम्बोधन गर्दै भने,
“यसबाट विचलित नहुनुहोस्, मलाई पनि फरक पर्दैन।”
सुरक्षाकर्मीहरूले अधिवक्ता किशोरलाई अदालत बाहिर निकाल्दै गर्दा उनले चिच्याउँदै भनेका थिए —“सनातन धर्मको अपमान हिन्दुस्तानले सहदैन।”
घटनापछि दिल्ली प्रहरीले प्रधानन्यायाधीश गवईलाई ‘जेड प्लस’ सुरक्षा प्रदान गरेको छ।
गत १६ सेप्टेम्बरमा गवईले न्यायाधीश के. विनोद चन्द्रनसँगको इजलासमा उक्त मन्दिरसम्बन्धी याचिका खारेज गर्दै भनेका थिए,“यो त केवल प्रचारको लागि गरिएको मुद्दा हो। तपाईं भगवान् विष्णुको भक्त हुनुहुन्छ भने प्रार्थना र ध्यान गर्नुहोस्।”

