तोमनाथ उप्रेती
उपसचिव, नेपाल सरकार
अध्यात्म मानिसको भित्री जीवन बुझ्ने मार्ग हो, जसले अन्तर्मनलाई शुद्ध बनाउन सहयोग पुर्याउँछ। हाम्रो संस्कृतिमा अध्यात्म ऋषि–मनीषीहरूको चिन्तनको निचोड हो, जसले आत्मा, परमात्मा, जीवन र मृत्यु जस्ता गूढ प्रश्नहरूको उत्तर खोज्छ। जब अन्तर्मन शुद्ध हुन्छ, मानिसको विचारमा विवेक, भावनामा करुणा र व्यवहारमा सहिष्णुता प्रकट हुन्छ। यसरी, व्यक्तिगत जीवन मात्र होइन, समाजमा पनि शान्ति र सद्भाव स्थापना हुन्छ।
शुद्ध अन्तर्मन भन्नाले लोभ, क्रोध, ईर्ष्या, अहंकारजस्ता नकारात्मक प्रवृत्तिबाट मुक्त, प्रेमपूर्ण र विवेकी स्थिति बुझिन्छ। यस्तो चेतनाले व्यक्तिलाई नम्र, सहिष्णु र संवेदनशील बनाउँछ। यसले परिवारमा प्रेम, समाजमा समझदारी र राष्ट्रमा एकता ल्याउँछ। दर्शनशास्त्र र धार्मिक शिक्षाहरूले पनि यही कुरा जोड दिएका छन्। हिन्दू धर्ममा योग, ध्यान र कर्मयोगमार्फत अन्तर्मनलाई स्थिर बनाउन प्रेरणा दिइन्छ भने बौद्ध दर्शनमा मनको शुद्धिकरण र करुणाको विकासलाई मुक्तिको मार्ग मानिन्छ।
अन्तर्मन शुद्ध भएपछि सामाजिक सम्बन्धमा विभाजन होइन, सहअस्तित्व प्रकट हुन्छ। जात, धर्म, भाषा वा पदको आधारमा हुने भेदभाव कम हुँदै सबैलाई समान मानवताको दृष्टिले हेर्ने क्षमता विकास हुन्छ। अशुद्ध मन द्वन्द्व र संघर्ष उत्पन्न गर्छ, तर शुद्ध मनले मेलमिलाप र सहयोगको वातावरण सिर्जना गर्छ।
यसरी, अन्तर्मनको शुद्धिकरण र सामाजिक सद्भाव एक–अर्कासँग अविच्छिन्न रूपमा गाँसिएका छन्। दिगो समाज, राष्ट्रिय एकता र समृद्ध भविष्यको आधार शुद्ध अन्तर्मन र त्यसबाट उत्पन्न सामाजिक सद्भाव नै हो।
अध्यात्मले मनुष्यको व्यवहार एवं आचरणलाई सुधार गर्छ र उसको गलत संस्कारहरूमा परिवर्तन ल्याइ उसलाई असल मानवीयताको बोध गराउँछ । आध्यात्मिकताकै कुरा गर्दा योग र ध्यानको प्रसङ्ग पनि जोडिएर आउने गर्छ । योग र ध्यानले मनुष्यको विचारलाई श्रेष्ठ र व्यवस्थित तुल्याउँछ । साथै यसले हाम्रो मनको एकाग्र शक्ति बढाउँछ । जसले गर्दा ईष्र्या, द्वेष, घृणा, क्रोध अथवा प्रतिशोधको भावनाले हाम्रोे मनमा जरा गाड्न पाउँदैन । वास्तवमा मनुष्य जीवनमा आइपर्ने सबै किसिमका व्यावहारिक समस्याहरूको समाधान मानिसको मनोभावनामा आधारभूत परिवर्तनबाट नै हुन सक्तछ र मनोभावनामा आधारभूत परिवर्तन ल्याउनु नै आध्यात्मिक ज्ञानको मुख्य उद्देश्य हो । किनकि आध्यात्मिक ज्ञानमा नै मानिसको विचार, भावना अनि मनोकाङ्क्षालाई सही दिशा दिने शक्ति अथवा क्षमता अन्तरनिहीत हुन्छ ।
आध्यात्मिक चिन्तनले संपूर्ण मानवजगतलाई जोड्ने काम गर्दछ । आध्यात्मिक बाटोमा कुनै निश्चित नियम कानुनको बन्देज हुंदैन। तपाईंहाम्रो अन्तरआत्माले सत्य मानेको, चिन्तन गरेको सत्य नै आध्यात्मिक सत्य हो। कतिपय धार्मिक स्थानमा अर्को धर्मका अनुयायीहरूलाई प्रवेश दिईंदैन ( आध्यात्मिक चिन्तनमा कुनै तगारो, नियम कानुन हुँदैन ।धर्मले सत्य बताउँछ । यसो गर्नुहुन्छ र यसो गर्नु हुककदैन। आध्यात्मले अन्वेशण गर्दछ कि यी संपूर्ण भनाईहरूनै अन्तिम सत्य हुन् त रु अर्थात प्राणी र पृथ्वीको कसरि ऊत्पति भयो भन्ने कुरा हरेक धर्मले अलग अलग ब्याख्या गरेपनि आध्यात्मिक चिन्तनले एऊटा सत्यको नजिक पुग्ने प्रयाश गर्छ ।
आध्यात्म स्वतन्त्र मार्ग हो। यो केवल पुराना भगवानका अर्ति–उपदेशमा सीमित रहनुपर्ने होइन। व्यक्ति आफैंले स्वतन्त्र चिन्तनद्वारा आफ्नो लागि अध्यात्मिक बाटो निर्माण गर्न सक्छ। यद्यपि धर्मका शिक्षाहरूलाई प्रेरणा स्वरूप लिन सकिन्छ, तर तिनैलाई अन्तिम सत्य ठान्न जरुरी छैन। समय सापेक्ष आत्मसमिक्षा र विवेकपूर्ण निर्णय नै आदर्श जीवनशैली हो। धर्म सजाय–पुरस्कारका कानुन जस्तै देखिन्छ भने अध्यात्म भने शालीन र पवित्र जीवनशैलीको आधार हो।
साँचो अध्यात्म भनेको असल कर्ममा आकर्षण हो। जसले परोपकार, सत्य, न्याय, करुणा, आस्था र कर्तव्यनिष्ठालाई जीवनको मूल मूल्य बनाउँछ। यसप्रति विश्वास कम हुनु हुँदैन, किनकि यिनै शाश्वत मूल्यहरूले व्यक्तिगत मात्र होइन, सामाजिक जीवनलाई पनि प्रकाशमान बनाउँछन्।
आध्यात्म संस्कार, आचरण र व्यवहारसँग गहिरो रूपमा गाँसिएको छ। संस्कार भन्नाले बचपनदेखि विकसित हुने मानवीय मूल्य र आस्थाहरूलाई जनाउँछ, जसले व्यक्तिको चरित्र निर्माण गर्छ। अध्यात्ममा आधारित संस्कारहरूले मानिसलाई कर्तव्य र दायित्व बुझ्न सिकाउँछन्। सत्य, अहिंसा, करुणा, सहिष्णुता, आत्मसंयम जस्ता गुणहरू आत्मसात गर्ने अभ्यासले व्यक्ति र समाजबीचको सम्बन्धलाई प्रगाढ बनाउँछ।
आचरण व्यवस्थापनमा पनि अध्यात्म अपरिहार्य हुन्छ। आचरण बाहिरी व्यवहार हो, तर यसमा भित्री संस्कारको प्रतिबिम्ब देखिन्छ। ध्यान, साधना र आत्मचिन्तनले मानसिक शान्ति दिन्छन्, जसले मानिसलाई आत्मनियन्त्रण र आन्तरिक शक्ति प्राप्त गर्न सहयोग गर्छ। यस्तो अनुशासित आचरणले समाजमा मेलमिलाप, समानता र भाईचारेको भावना प्रवर्द्धन गर्छ।
व्यवहार सुधारमा पनि अध्यात्म महत्त्वपूर्ण हुन्छ। शुद्ध अन्तर्मनबाट मार्गदर्शन प्राप्त गर्ने मानिस विवेकपूर्ण, शान्त र रचनात्मक व्यवहार गर्छ। सकारात्मक सोचले तनाव र आक्रोश घटाउँछ, आत्मबल बढाउँछ, र कठिनाइमा पनि सही निर्णय लिन मद्दत गर्छ।
समाजको नैतिक सुधारका लागि अध्यात्मको मार्गदर्शन अनिवार्य हुन्छ। यसले हरेक व्यक्तिलाई आफ्ना अधिकारसँगै जिम्मेवारीप्रति सचेत बनाउँछ। भ्रष्टाचार, अन्याय र विभाजनलाई रोक्ने शक्ति अध्यात्मिक मूल्यहरूमा निहित हुन्छ। जब प्रत्येक व्यक्ति आफ्नो आचरणमा सत्य, न्याय र परोपकारलाई स्थापित गर्छ, समाजमा सामूहिक सुधार सम्भव हुन्छ।
अध्यात्मले व्यक्तिको अन्तर्मन शुद्ध पार्छ, संस्कारलाई सबल बनाउँछ, आचरणलाई अनुशासित गर्छ र व्यवहारलाई सकारात्मक दिशामा लैजान्छ। परिणामस्वरूप, समाज नैतिक, सुव्यवस्थित र समृद्ध बन्छ। यही हो अध्यात्मको वास्तविक योगदान—व्यक्ति र समाज दुवैलाई उज्यालोतर्फ उन्नत बनाउने।
अन्तर्मन शुद्ध गर्ने प्रक्रिया व्यक्तिगत मात्र होइन, सामूहिक रूपमा पनि अपनाउन आवश्यक छ। परिवार, शिक्षा, धर्म, कला र संस्कृतिले यसमा महत्त्वपूर्ण भूमिका खेल्छन्। घरपरिवारमा नैतिक शिक्षा र सद्भाव सिकाउने संस्कार विकसित गर्दा बालबालिकामा राम्रो संस्कार र सकारात्मक सोच विकास हुन्छ। विद्यालय तथा समुदायमा चरित्र निर्माण र आध्यात्मिक शिक्षालाई जोड दिइँदा नयाँ पुस्तामा अन्तर्मन शुद्धि र सामाजिक जिम्मेवारीको भावना जागृत हुन्छ।
अन्तर्मनको शुद्धिकरणले मात्र व्यक्ति स्वयम् शान्त, सन्तुष्ट र सफल हुँदैन, वरन् समाज पनि सुन्दर, समृद्ध र स्थिर बन्न सक्छ। अध्यात्मिक अभ्यासले मानिसलाई आफ्नो भित्री स्वभावलाई चिनेर सुधार्न र आफू मात्र होइन, अरूको जीवनमा पनि सकारात्मक प्रभाव पार्न सक्षम बनाउँछ। यसले हाम्रो दैनिक जीवनलाई मात्र होइन, सम्पूर्ण समाज र राष्ट्रलाई नै उज्यालो बनाउने सामर्थ्य राख्दछ। त्यसैले, अन्तर्मनको शुद्धिकरण र सामाजिक सद्भावलाई मानव जीवन र विकासको अभिन्न अङ्गको रूपमा लिन आवश्यक छ।प्रकृति, ईश्वर र मानव जीवनको अनसुल्झिएको रहस्यलाई समाधान गर्ने तत्व नै अध्यात्म ज्ञान हो।
अध्यात्म मार्गले मानव जीवनलाई प्रयोग गरी भित्री चेतनालाई परम चेतनामा रूपान्तरण गर्न सकिन्छ। ईर्ष्या, द्वेष, घृणा र प्रतिशोधले समाजलाई पथभ्रष्ट बनाउँछन् भने अध्यात्म मार्गले संस्कार, आचरण र व्यवहार सुधार्न महत्वपूर्ण मार्गदर्शन दिन्छ। यसले व्यक्तिलाई आत्मिक शान्ति र उच्च नैतिक मूल्यहरूको अभ्यासमा जोड दिन्छ। जब समाजका सबै सदस्यले अध्यात्मिक मूल्य र आचरणलाई अंगाल्छन्, तब समाजमा एकता, शान्ति र समृद्धि वृद्धि हुन्छ। त्यसैले अध्यात्ममा आधारित जीवन यापनले नैतिक प्रशासन, सामाजिक सुधार र मानवता सुधारमा सकारात्मक योगदान पुर्याउँछ। ।(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन् ।)

