(१)
सन्दर्भ; लिलामणीको पुस्तक प्रचण्डद्वारा बिमोचन,
—— —लक्ष्मण उप्रेती ” आर्जन ”
MCC, अमेरिकी सरकारद्वारा सन् २००४ देखि सञ्चालनमा आएको एक “grant-based” सहयोग कार्यक्रम हो, जसको उद्देश्य गरिबी निवारण र विकास प्रवर्धन भनिएको छ। तर, यसको भित्री संरचना विश्लेषण गर्दा यो केवल अनुदान होइन, “सर्तसहितको अनुदान” हो।
नेपालको सन्दर्भमा MCC ले दुई ठूला पूर्वाधार, ट्रान्समिशन लाइन र सडक स्तरोन्नति को प्रस्ताव गरे पनि, त्यसको कानुनी धारा, सम्झौताको सर्वोच्चता, अमेरिकी कानुनको प्राथमिकता जस्ता बुँदाहरूले नेपालमा सार्वभौमिकताको प्रश्न उठायो। आलोचकहरूले यसलाई “सहमतिको खोल ओढेको साम्राज्यवादी सम्झौता” भने।
(२ )
माओवादी केन्द्र्को आन्दोलन र MCC ; सैद्धान्तिक पतनको कथा:-
नेकपा (माओवादी केन्द्र) ले जनयुद्धको क्रममा अमेरिकी साम्राज्यवादलाई प्रमुख शत्रु मानेको थियो। तर, सशस्त्र संघर्ष स्थगनपछिको संसदीय यात्रामा पार्टी क्रमशः सत्ताको राजनीतिमा समाहित हुँदै गयो। MCC को मामिलामा पनि प्रारम्भिक विरोधपछि, संसदमा ‘ब्याख्यात्मक टिप्पणी’ को खोल ओढाएर समर्थन गरियो। तर आजपनि जनताले प्रश्न गरीरहेका छ्न;
“यदि MCC राम्रै हो भने किन ब्याख्यात्मक टिप्पणी आवश्यक भयो?”
“यदि नराम्रो हो भने किन पारित गरियो?”
यही प्रश्नले देखाउँछ ,माओवादी आन्दोलनको मूल वर्गदृष्टिकोण, अन्तर्राष्ट्रियतावाद र साम्राज्यवादविरोधी सिद्धान्त अब खोक्रो भएको छ।
(३)
पुस्तक विमोचन , वैचारिक पुनर्व्याख्या कि राजनैतिक पलायन?
MCC वारे पुस्तक लेख्नु स्वयंमा आपत्तिजनक होइन, बरु स्वागतयोग्य हुनसक्छ यदि त्यसमा आलोचनात्मक दृष्टिकोण, वैकल्पिक नीति र ऐतिहासिक आत्मसमीक्षा होस्। तर माओवादी नेता लीलामणि पोख्रेलद्वारा लिखित पुस्तक (जसको विमोचन स्वयं अध्यक्ष प्रचण्डले गरे) मुख्यतः MCC पास गरिने निर्णयको औचित्य सिद्ध गर्न लेखिएको हो भने, यो क्रान्तिकारी सिद्धान्तको शवमाथि पुष्पगुच्चछा अर्पण मात्र हो।
पुस्तक विमोचन समारोह, प्रचारप्रसार र नेताहरूका वक्तव्यहरूले स्पष्ट पार्दछ , यो “राजनीतिक स्पष्टीकरणको औजार” हो, जसले पार्टीभित्रको अन्यथा असन्तुष्टको घेरालाई थाम्ने र जनताको आक्रोशलाई सन्तुलनमा राख्ने प्रयास गर्छ।
(४)
क ) MCC वारे जनताको चेतना र असहमतिको इतिहास:-
MCC पारित हुनु अघि नेपालमा भएको जनसंघर्ष उल्लेखनीय थियो
क ) विद्यार्थी आन्दोलन,
ख) नागरिक समाजको विरोध,
ग) प्राज्ञिक – बुद्धिजीवी वृत्तका आलोचनात्मक टिप्पणीहरू,
ग)राजनैतिक पार्टी र राष्ट्रवादी संगठनहरूको सडक संघर्ष।
यो समयमा नेपाली जनताले MCC वारे सशक्त राजनीतिक शिक्षा प्राप्त गरे। राजनैतिक पार्टी देखि राष्ट्रियता स्वाधीनता पक्षधरमाझ यो विषय साझा बन्यो। माओवादी पार्टी नेतृत्वले भने MCC विरुद्ध जनआन्दोलनको नेतृत्व लिनुको साटो, त्यसलाई नियन्त्रण गर्ने भूमिका खेल्यो।
आज तिनै पार्टी नेता लीलामणि पोख्रेल ले MCC वारे पुस्तकमार्फत ” सही निर्णय ” सिद्ध गर्न लाग्दा, जनता फेरि सोध्न बाध्य छन् ;
क) “कसको MCC थियो त्यो? अमेरिकाको कि जनताको?”
ख) “कसको प्रतिबद्धता बलियो थियो? आन्दोलनकारी जनताको कि संसदभित्र घुँडाटेक्ने नेताको?”
( ५ )
वैकल्पिक विचार र राजनीतिक नीतिको आवश्यकता:-
MCC वारे बहस केवल “सम्झौता सही कि गलत” भन्ने प्रश्नमा सिमित हुन हुँदैन। यसको वैकल्पिक राजनीतिक दृष्टि के हुनसक्थ्यो? नेपाल जस्तो राष्ट्रले विदेशी सहायताबाट कस्तो सहयोग लिन सक्थ्यो? लिन पर्द्थ्यो?
यसका लागि निम्न आधारमा वैकल्पिक बहस आवश्यक छः
१) जन-स्वामित्वमा आधारित पूर्वाधार निर्माण नीति
२) द्विपक्षीय सहकार्यमा पारदर्शी सम्झौता नीति
३) सार्वभौमिकताका मापदण्ड स्पष्ट पार्ने संवैधानिक परिभाषा
४) जनताको पूर्वसहमति विना कुनै अन्तर्राष्ट्रिय सम्झौता नगर्ने प्रतिवद्धता
५) सार्वजनिक लेखा परीक्षणमार्फत सहायता सम्झौताहरूमा सार्वजनिक निगरानी कायम राख्ने नीति
समापन टिप्पणी:
MCC वारे पुस्तक एउटा दस्तावेज हो , तर इतिहासले लेख्ने दस्तावेज होइन। त्यो दस्तावेज जनताले लेख्नेछन्।
संसदमा बहुमतले पास भएको निर्णय पुस्तकमार्फत ‘क्रान्तिकारी’ हुन सक्दैन। इतिहासले प्रमाणित गर्नेछ कि MCC संसदमा मात्र होइन, जनजागरणको सडकमा पराजित भएको सम्झौता थियो।
अन्ततः, MCC पारित गर्नेहरूले पुस्तक लेखे, जनताले त्यो पढेर आन्दोलनको योजना लेख्नेछन्। त्यो आन्दोलन अब किताबभित्र होइन, चेतना र संकल्पभित्र आगोसरी सल्कन थालिसकेको छ।

