नेपालका मुल संकटहरु – भ्रष्टाचार, बेरोजगारी, अस्थिरता, सेवामा कमजोरी, र शिक्षामा गिरावट – सबैको मूल जड नै नैतिकताको अभाव हो।
——प्रेमचन्द्र झा
समाज बदलिन धेरै समय लाग्दैन। सार्वजनिक ठाउँमा फोहोर नगर्नु, लाइनमा पालो पालना गर्नु, कर तिर्नु, झूट नबोल्नु, सवारी नियम पालना गर्नु, सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु, छिमेकीसँग सहिष्णु व्यवहार गर्नु—यी सबै साधारण लाग्ने कामहरू नै हाम्रो नैतिकता हो।
कहिलेकाहीं हामी कानुन नलाग्ने ठाउँमा जानीजानी अनैतिक काम गर्छौं, जस्तो—पानी चोरेर सिंचाइ गर्नु, लोडसेडिङमा अनधिकृत लाइन जोड्नु, वा चाडपर्वमा मादक पदार्थ सेवन गरेर होहल्ला गर्नु। यस्ता व्यवहारले समाजको अनुशासन मात्र होइन, हाम्रो व्यक्तित्व पनि कमजोर पार्छ। नैतिक नागरिक बन्ने काम स्कूल, धर्म, समाज वा सरकारको मात्र जिम्मा होइन—व्यक्ति स्वयंको हो। सानैदेखि यो चेतना विकास गरे मात्रै दीर्घकालीन प्रभाव पर्छ।
नैतिकता समाजमा पुनःस्थापना गर्नका लागि धेरै उपायहरू अपनाउन सकिन्छ। पहिलो, हाम्रो शिक्षा प्रणालीमा नैतिक शिक्षा अनिवार्य हुनुपर्छ, बाल्यकालदेखि नै मूल्य–आधारित शिक्षा दिनुपर्छ। विद्यार्थीलाई केवल परीक्षा पास गर्ने होइन, राम्रो मानिस बन्ने शिक्षामा जोड दिनुपर्छ। दोस्रो, शिक्षक, अभिभावक र समाजले केवल उपदेश होइन, व्यवहारबाट उदाहरण देखाउनुपर्छ। तेस्रो, धार्मिक र सांस्कृतिक संस्थाहरूले मानवता र सदाचारको प्रचार गर्नुपर्छ, अन्धविश्वास होइन। चौथो, सामाजिक सञ्जालमा प्रयोगकर्तालाई सचेत बनाउने अभियानहरू चलाउनुपर्छ, जसले साइबर मर्यादा सिकाउँछ। पाँचौँ, भ्रष्टाचार, अनियमितता, र पदको दुरुपयोग गर्नेलाई जुनसुकै तहको व्यक्ति भए पनि कानुनी रूपमा कडा कारबाही गरिनुपर्छ। छठौँ, सामुदायिक तहमा नैतिक बहस, गोष्ठी, नाटक, चित्रकला, कविता, लेखनजस्ता सृजनात्मक कार्यक्रमबाट चेतना फैलाउनु पर्छ। अन्तिममा, नैतिक व्यक्ति, संस्था वा नेतृत्वलाई सार्वजनिक रूपमा सम्मान गर्ने संस्कार बसाल्नुपर्छ, जसले समाजमा राम्रोको प्रेरणा दिन्छ।
नैतिकता भन्नु केवल आदर्श होइन, व्यवहार हो। यो हाम्रै बोली, चालचलन, सोच, कर्म, सम्बन्ध र जिम्मेवारीमा झल्किन्छ। जब मानिसहरूमा नैतिकता बलियो हुन्छ, तब समाज स्वतः सुरक्षित, न्यायपूर्ण र शान्त हुन्छ। तर जब नैतिकता कमजोर हुन्छ, तब कानुनले मात्र सबै कुरा रोक्न सक्दैन।
नेपालमा आज जुन संकटहरू छन्—भ्रष्टाचार, बेरोजगारी, राजनीतिक अस्थिरता, सेवा प्रवाहमा कमजोरी, शिक्षा र स्वास्थ्यमा गिरावट, सामाजिक असहिष्णुता—यी सबैको मूल कारण नै नैतिकताको कमी हो। जब व्यक्ति, संस्था, र राज्य नैतिक बन्छ, तब कानुन, नीति, योजना र विकास स्वाभाविक रूपमा सफल हुन्छन्।
त्यसैले अब समय आएको छ कि हामी सबै—राजनीतिज्ञ, कर्मचारी, महिला, विद्यार्थी, किसान, व्यापारी, पेशाकर्मी, मिडिया, र सामान्य नागरिक—आ–आफ्नो ठाउँबाट नैतिकता अभ्यासमा लागौं। त्यसैबाट मात्रै साँचो परिवर्तन सम्भव हुन्छ। व्यक्तिको आत्मा शुद्ध भए समाज स्वतः सबल हुन्छ। अनि मात्र राष्ट्र बन्न सक्छ—न्याययुक्त, समावेशी, स्वाभिमानी र समृद्ध।
( झा ,प्रेस चाैतारी नेपालका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघ राैतहट शाखाका पुर्व अध्यक्ष हुन ।

