काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक शनिबार बिहान ११ बजेदेखि अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्ने भएको छ। बैठक महाधिवेशन तयारीसँग सम्बन्धित विषयमा केन्द्रित रहेको पार्टी कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए।
अधिकारीका अनुसार मंसिर २७ देखि २९ गतेसम्म पोखरामा हुने ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनोटको विधि र संख्याबारे बैठकले निर्णय गर्नेछ। अघिल्लो १०औँ महाधिवेशनमा एक हजार पार्टी सदस्य बराबर तीन प्रतिनिधि चयन गर्ने व्यवस्था गरिएको थियो। यसपटक १२ सय बराबर तीन प्रतिनिधि छनोट गर्ने प्रस्ताव गरिएको छ।
हाल एमालेमा ६ लाख ६३ हजार सदस्य कायम छन्। बैठकले महाधिवेशन तयारीसँगै विभिन्न समिति तथा उपसमिति गठन र जनपरिचालन योजनाबारे पनि निर्णय गर्नेछ।
पार्टीले प्रतिनिधिसभा पुनःस्थापनाका लागि जनपरिचालन कार्यक्रमसमेत महाधिवेशनसँगै अघि बढाउने तयारी गरेको बताइएको छ।

