काठमाण्डौ । तान्जानियामा आम निर्वाचनलगत्तै सुरु भएको विरोध प्रदर्शन हिंस्रक बन्दै जाँदा सयौँ मानिसको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
मृतकको सङ्ख्याबारे फरक–फरक दाबी भइरहेका छन्। विपक्षी दल चडेमाका एक प्रवक्ताले सुरक्षा बलसँगको झडपमा करिब ७०० जनाको ज्यान गएको दाबी गर्दै समाचार एजेन्सी एएफपीलाई जानकारी दिएका छन्। त्यस्तै, बीबीसीसँग कुरा गरेका एक राजनीतिक स्रोतले कम्तीमा ५०० मानिस मारिएको बताएका छन्।
देशभर इन्टरनेट बन्द गरिएकाले यथार्थ तथ्याङ्क सार्वजनिक हुन नसकेको बताइएको छ। सरकारका अनुसार हिंसाको नियन्त्रणका लागि देशभर कर्फ्यू घोषणा गरिएको छ।
हालै सम्पन्न निर्वाचन स्वतन्त्र र निष्पक्ष नभएको भन्दै विपक्षी कार्यकर्ता र युवाहरूले देशका विभिन्न सहरमा प्रदर्शन गरेका थिए। प्रदर्शनकारीहरूले सरकारले प्रमुख विपक्षी नेतामाथि दमन गरेको र लोकतान्त्रिक प्रक्रिया कमजोर पार्ने प्रयास गरेको आरोप लगाएका छन्।
सरकारले एक प्रमुख विपक्षी नेतालाई जेलमा राखेको र अर्का एकलाई निर्वाचनमा उम्मेदवार बन्न नदिएको बताइएको छ।
राष्ट्रपति सामिया सुलुहू हसन र उनको सत्तारूढ दल चामा चा मापिन्दुजी (CCM) ले विपक्षी नेताहरूमाथि दमन गरी सत्ता कब्जा गर्न खोजेको आरोप विपक्षीहरूले लगाएका छन्।

