– लक्ष्मण उप्रेती
(अखिल नेपाल कम्युनिस्ट पार्टीको अवधारणामा आधार
भूमिका
कम्युनिस्ट आन्दोलनको अन्तिम लक्ष्य केवल राज्यसत्ता मात्र हस्तान्तरण होइन, शोषणविहीन, वैज्ञानिक र सर्वहारा चेतनायुक्त नयाँ समाजको निर्माण हो। त्यसका लागि राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरणसहित सांस्कृतिक क्रान्ति अनिवार्य हुन्छ। हाम्रोआन्दोलनको वर्तमान मोडमा यो प्रश्न पुनः केन्द्रीय भाग बनिरहेको छ,सांस्कृतिक क्रान्तिको ऐतिहासिक र वस्तुगत आवश्यकता के हो? त्यसको कार्यदिशा के हुनेछ? लेखमा त्यसैको सैद्धान्तिक र व्यावहारिक पृष्ठभूमि प्रस्तुत गरिएको छ।
१. सांस्कृतिक क्रान्तिको परिभाषा र मूल सार:-
१.१ सांस्कृतिक क्रान्ति भनेको समाजमा विद्यमान पूँजीवादी, सामन्ती र उपनिवेशवादी सांस्कृतिक संरचनाको खारेज गर्दै नयाँ जनवादी/समाजवादी संस्कृति निर्माण गर्ने ऐतिहासिक प्रक्रिया हो।
१.२ यो चेतनाको तहमा परिवर्तन ल्याउने माध्यम हो।जनताको मूल्य,मान्यता, व्यवहार,भाषा,कला,साहित्य,शिक्षा,धर्म, जात,लिङ्ग,पोशाक र सोचमा आमूल रूपान्तरणको प्रक्रिया हो।
१.३ सांस्कृतिक क्रान्ति भनेको वर्ग-संघर्षको चेतनात्मक मोर्चा हो।जहाँ शासक वर्गको विचार,संस्कार,सस्कृती र संरचनासँग प्रत्यक्ष युद्ध गरिन्छ।
२. सांस्कृतिक क्रान्तिको ऐतिहासिक आधार;
२.१ समाजको आर्थिक आधार (Base) परिवर्तन भए पनि त्यसअनुसारको चेतनात्मक अधिरचना (Superstructure) तुरुन्तै परिवर्तन हुँदैन। त्यसैले राजनीतिक क्रान्तिपछि सांस्कृतिक क्रान्ति अपरिहार्य हुन्छ।
२.२ माओ त्सेतुङले भनेका थिए:
“सामन्तवाद, पूँजीवाद, र अन्य शोषणकारी प्रवृत्तिहरू हाम्रो चेतनामा,हाम्रो संस्कृतिमा,हाम्रो
परम्परामा अझै बाँकी छन्। राजनीतिक सत्ता कब्जा गरेपछि पनि ती विचारहरू हामीभित्रै जीवित रहन्छन्। त्यसैले सांस्कृतिक क्रान्ति आवश्यक छ।”
३. सांस्कृतिक क्रान्तिको वस्तुगत आवश्यकता ;
३.१ सामन्ती अवशेषहरूको अस्तित्व:
जात व्यवस्था, छुवाछूत, नारी दमन, बालविवाह, अन्धविश्वासजस्ता शोषक संस्कार नेपाली समाजमा अझै बिद्यमान छ।
३.२ पूँजीवादी र उपभोक्तावादी संस्कृति;-
टेलिभिजन, गीत, सामाजिक सञ्जाल, र शिक्षा प्रणालीमार्फत नवउपनिवेशवादी संस्कृति विस्तार भइरहेको छ।
३.३ राजनीतिक क्रान्तिपछिको वैचारिक रिक्तता:
राजनीतिक स्तरमा राज्यसत्ता प्राप्त पछि पनि चेतना स्तरमा पछि सम्म पुराना प्रवृत्तिहरू हावी हुन्छ्न। तिनको निर्मूलनबिना जनवाद-समाजवाद स्थायी बन्न सक्दैन।
४. सांस्कृतिक क्रान्तिको लक्ष्य
क) श्रमिक र किसानको संस्कृति सशक्त बनाउनु।
ख) प्रतिक्रियावादी धर्म, जातीयता, लैङ्गिकता र वर्गीय संस्कारको अन्त्य गर्नु।
ग) वैज्ञानिक, प्रगतिशील, जनवादी संस्कृतिको स्थापना गर्नु।
घ) चेतना र व्यवहारमा सर्वहारा वर्गको नेतृत्व स्थापना गर्नु।
५. सांस्कृतिक क्रान्तिको कार्यदिशा:-
५.१ जनवादी सांस्कृतिक आन्दोलन निर्माण:-
श्रमजीवी जनताको जीवन अनुभव र इतिहासमा आधारित कला, गीत, साहित्य, नाटक निर्माण गर्न‘जनताको लागि, जनताबाट, जनतासँग’ भन्ने कार्यदिशा अपनाउनु
५.२ पुरानो संस्कृतिको वर्गीय आलोचना:-
क) धर्म, कर्मकाण्ड, विवाह, भेषभूषा आदिको वैज्ञानिक पुनर्व्याख्या गर्नु।
ख) जातीय र लैङ्गिक उत्पीडनविरुद्ध सांस्कृतिक हस्तक्षेप गर्नु।
५.३ क्रान्तिकारी सांस्कृतिक संगठनहरूको निर्माण:-
क) गाउँ-गाउँमा सांस्कृतिक टोली स्थापना गर्नु।
ख) गीत, भित्ते लेखन, नाटक र चित्रमार्फत जनचेतना विकास गर्नु।
५.४ समाजवादी शिक्षा नीति:-
क) श्रम, वैज्ञानिक सोच र समाजवाद केन्द्रीत हुने पाठ्यक्रम विकास र निर्माण गर्नु।
ख) निजीकरण, विदेशीकरण र व्यक्तिवादी शिक्षाको विरोध गर्नु।
५.५ भाषा र संचारको समाजीकरण:-
क) जनभाषामा सञ्चार र अभिव्यक्तिको प्रवर्द्धन गर्नु।
ख) वर्गीय दृष्टिले सञ्चालित समाचार, पत्रपत्रिका, रेडियो र डिजिटल माध्यमहरूको निर्माण गर्नु।
६. अनुभव र शिक्षा;-
६.१ चीनको महान् सांस्कृतिक क्रान्ति
प्रतिगमनको सम्भावनालाई समाप्त गर्न ‘चार पुराना कुरा’ (१.पुराना विचार, २.पुराना संस्कृति,३.पौराणिक परम्परा,४. पुराना अभ्यास) विरुद्ध आम जनताको सहभागितामा विशाल सांस्कृतिक संघर्ष उठान गर्नु।
६.२ नेपालको जनयुद्धकाल:-
क) जनजाति, महिला, दलित र मजदुरको सांस्कृतिक पहिचानलाई मान्यता दिनु।
ख) जातमुक्त विवाह, क्रान्तिकारी नाटक, जनगीत र चेतनामूलक प्रचारद्वारा सांस्कृतिक पुनर्जागरण गर्नु
७. चुनौती र समाधान:-
७.१ चुनौतीहरू:
क ) नवउपनिवेशवादमार्फत प्रवेश गर्ने सांस्कृतिक वर्चस्व ।
ख) कथित लोकतान्त्रिक गणतान्त्रिक धर्मनिरपेक्षताको आडमा प्रतिक्रियावादी संस्कारको संरक्षण।
ग) आत्मकेन्द्रित कला, व्यक्तिगत ब्रान्डिङ, डिजिटल अश्लीलता आदिको उच्छृङ्खल विस्तार।
७.२ समाधान:
क) सांस्कृतिक आन्दोलनलाई राजनीतिक आन्दोलनसँग समन्वयमा लैजानु।
ख) कलाकार, शिक्षक, लेखक, सञ्चारकर्मी आदिलाई वैचारिक प्रशिक्षणमा संगठित गर्नु।
ग) पार्टीभित्रै आलोचना–आत्मालोचना र विचार निर्माणको संस्कृति विकास गर्नु।
८. निष्कर्ष
सांस्कृतिक क्रान्ति क्रान्तिको दोस्रो, तर निर्णायक चरण हो।यसले मात्र पूँजीवाद, सामन्तवाद र उपनिवेशवादका चेतनात्मक आधारहरू ध्वस्त पार्न सक्छ।यो जनताको चेतनालाई शुद्ध पार्ने, परिवर्तनको दिगोपन कायम गर्ने, र समाजवादी मार्गलाई सुरक्षित गर्ने क्रान्तिकारी अस्त्र हो।हामी सांस्कृतिक क्रान्तिको महान् कार्यभार अगाडि सार्न प्रतिवद्ध छौं।

