काठमाण्डौ । नेपाली कांग्रेसकी सांसद कमला पन्तले सुशासनको अभाव र बढ्दो भ्रष्टाचार तथा अनियमितता मुलुकको मुख्य समस्या भएको बताएकी छन्। आइतबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले राज्यका प्रमुख अंगहरूमाथि जनताको विश्वास घट्दै गएकोमा चिन्ता व्यक्त गरिन्।
सांसद पन्तले राजनीतिक दलहरूबीचको पारस्परिक अविश्वास र सेवा प्रदायक तथा सेवाग्राहीबीचको विश्वासको संकट बढिरहेको भन्दै सरकार यसप्रति गम्भीर बन्नुपर्नेमा जोड दिइन्। उनले कर्मचारीहरूले सामान्य काम सम्पन्न गर्नका लागि समेत टेबुलमुनिबाट कारोबार (घुस) लिने गरेको आरोप लगाइन्।
उनले घुस प्रकरणमा जोडिएका मन्त्रीहरू समेत खुलेआम हिँडिरहेको भन्दै मन्त्रिपरिषद्ले यस विषयमा बोल्नुपर्ने वा नपर्ने भन्दै प्रश्न गरिन्। साथै, सांसद पन्तले दुईवटा वाइडबडी विमान खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईमाथि विशेष अदालतले प्रश्न उठाएकाले उनीमाथि महाअभियोग लगाउन समेत माग गरिन्। वाइडबडी जहाज खरिद प्रकृयामा संलग्न राईलाई मुद्दा अभियोजन नगर्नु नै भ्रष्टाचारको उदाहरण भएको बताउँदै सांसद पन्तले ‘भ्रष्टाचारको अनुसन्धान गर्ने संवैधानिक निकाय आफैं भ्रस्ट आचरण प्रस्तुत गर्दा ऊ विरुद्ध किन महाअभियोग नलगाउने ?’ प्रश्न गरिन् ।
सांसद पन्तले आइतबार राष्ट्रिय सभामा बोल्नेक्रममा संवैधानिक निकायमा यस्तो काम हुनु गलत भएको भन्दै प्रश्न उठाएकी हुन् ।

