काठमाण्डौ । पोखरामा जग्गा बेच्ने विषयमा दम्पतिबीच भएको विवादले एक महिलाको ज्यान गएको छ। आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा कास्की प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, साउन ६ गते भएको घटनामा संलग्न ५८ वर्षीय जङ्गे सार्कीलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ। प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतले दिएको जानकारी अनुसार, जङ्गेले विवादको क्रममा आवेशमा आई ५३ वर्षीया श्रीमती जमुना नेपाली सार्कीलाई दुई मुक्का प्रहार गरी भित्तामा ठोक्काएका थिए। सोही कारण जमुनाको मृत्यु भएको प्रहरीले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।
यसरी भयो जमुनाको हत्याको घटनाको खुलासा
साउन ८ गते राती करिब १० बजे पोखरा महानगरपालिका–२७ रिठ्ठेपानीस्थित जमुनाको घरको सुत्ने कोठामा उनी मृत अवस्थामा फेला परेको सूचना प्रहरीमा आएको थियो। प्रहरीले तत्काल अनुसन्धान सुरु गर्दै शङ्कास्पद व्यक्तिहरूमाथि निगरानी बढाएको थियो। सोही क्रममा मृतक जमुनाका श्रीमान् जङ्गेलाई साउन ८ गते नै नियन्त्रणमा लिइएको थियो।
प्रारम्भिक अनुसन्धानबाट खुलेअनुसार, खाना खाएपछि एक गिलास मदिरा सेवन गरेका जङ्गेले साउन ६ गते श्रीमतीमाथि आक्रमण गरेका थिए। जग्गा बेच्ने विषयमा भनाभन हुँदा जङ्गेले श्रीमतीलाई मुक्का प्रहार गरी भित्तामा ठोक्काएको प्रहरीले बताएको छ। पोष्टमार्टम रिपोर्टमा समेत टाउकोमा जबरजस्ती चोट लागेका कारण मृत्यु भएको पुष्टि भएको छ।
शव गन्हाउन थालेपछी बल्ल छिमेकीलाई पत्तो
घटनालगत्तै जङ्गे आफ्नो घर बाहिर रहेको टिनको टहरामा सुत्न गएका थिए। भोलिपल्ट बिहान उनले छिमेकीको घरमा चिया खाएर ठेकेदारलाई भेट्न भन्दै सिसुवातर्फ लागेका थिए। दिनभर ठेकेदारलाई भेट्न नसकेपछि साँझ घरमा आई आफैँले खाना बनाएर खाए तर श्रीमतीको बारेमा कुनै खोजी गरेनन्।

साउन ८ गते पनि बिहान उठेर छिमेकीको घरमा चिया खाएर ठेकेदारलाई भेट्न भन्दै उनी पुनः सिसुवातर्फ लागे। घटना भएको तेस्रो दिनसम्म पनि अभियुक्तले श्रीमतीको बारेमा कुनै चासो देखाएनन्। सोही दिन साँझ करिब सवा ५ बजे जङ्गेको घरबाट फरक गन्ध आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी पुग्दा शव सडेर दुर्गन्ध फैलिएको अवस्थामा थियो।
पक्राउ परेका सार्कीलाई कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यानसम्बन्धी मुद्दामा ६ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।
माछापुच्छ्रे गाउँपालिका–५ रिमान स्थायी घर भएका सार्की दम्पती करिब २० वर्षदेखि पोखरा महानगरपालिका–२७ रिठ्ठेपानी शान्ति खहरे टोलस्थित सुकुम्वासी टोलमा अस्थायी छाप्रोमा बस्दै आएका थिए। प्रहरीका अनुसार, करिब ३५ वर्षअगाडि पहिलो श्रीमतीले एक वर्षको छोरा छोडेर अन्तै विवाह गरेपछि जङ्गेले जमुनासँग दोस्रो विवाह गरेका थिए। श्रीमानले ज्यामी काम गर्ने र श्रीमतीले घरायसी काम गरी सामान्य जीवनयापन गर्दै आएको प्रहरीले बताएको छ।
पहिलो श्रीमतीतर्फको एक मात्र छोरालाई जमुनाले नै हुर्काएकी थिइन्। छोरा र बुहारी हाल माछापुच्छ्रे गाउँपालिकाको रिमानमा बस्दै आएका छन्।
