काठमाण्डौ । युद्धविरामको घोषणा गरेको केही घण्टामै इजरायलले गरेको आक्रमणमा गाजामा कम्तीमा ६३ जना प्यालेस्टिनीको ज्यान गएको छ। बढ्दो भोकमरीका कारण विश्वभरबाट आलोचना खेपिरहेको इजरायलले मानवीय सहायता पुर्याउन दैनिक १० घण्टा आक्रमण रोक्ने बताएको थियो। तर, सोही अवधिमा पनि आक्रमण गरेर प्यालेस्टिनी नागरिकको हत्या गरेको हमासले दाबी गरेको छ।
इजरायली सेनाले हिजो अल-मवासी, देइर अल-बलाह र उत्तरी तथा मध्य गाजामा बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म सैन्य गतिविधि रोक्ने घोषणा गरेको थियो। यो अवधिमा खाद्यान्न र औषधि बोकेका गाडीहरूलाई प्रवेश गर्न दिइने बताइएको थियो। यसका साथै, इजरायलले केही क्षेत्रमा हवाई माध्यमबाट पनि खाद्यान्न खसालेको थियो। तर, यसैबीच सैन्य गतिविधि बढेको र ६३ जनाको ज्यान गएको हमासको दाबी छ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा मात्रै भोकमरीका कारण २ बालबालिकासहित ६ जनाको मृत्यु भएको छ। यससँगै गाजामा भोकमरीका कारण ज्यान गुमाउनेको संख्या १३३ पुगेको छ।
विश्व खाद्य कार्यक्रम (WFP) ले गाजाको अवस्था चिन्ताजनक रहेको बताएको छ। उसका अनुसार गाजाका प्रत्येक तीनमध्ये एक बासिन्दाले कैयौँ दिनदेखि खाना खान पाएका छैनन्, र करिब ५ लाख मानिस चरम खाद्य संकटमा फसेका छन्।

