काठमाण्डौ । इंग्ल्यान्डले विश्वकप विजेता स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै लगातार दोस्रोपटक महिला युरोपियन च्याम्पियनसिप २०२५ को उपाधि जितेको छ। आइतबार स्विट्जरल्यान्डमा भएको फाइनलमा निर्धारित र अतिरिक्त समय १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो, जसमा इंग्ल्यान्डले ३-१ को जित निकाल्यो।
रोमाञ्चक फाइनल र पेनाल्टीको नाटक
खेलको २५ औं मिनेटमा मारियोना काल्डेन्टीले हेडमार्फत गोल गर्दै स्पेनलाई अग्रता दिलाएकी थिइन्। तर, साविक विजेता इंग्ल्यान्डका लागि ५७ औं मिनेटमा एलेसिया रुसोले गोल गर्दै खेललाई बराबरीमा ल्याइन्।
पेनाल्टी सुटआउटमा इंग्ल्यान्डले उत्कृष्ट प्रदर्शन गर्यो। इंग्ल्यान्डका लागि एलेक्स ग्रिनवुड, निह चाल्र्स, र क्लोइ केलीले गोल गरे। यद्यपि, लिह विलियम्सन र बेथ मेडको प्रहारलाई स्पेनकी गोलकिपरले बचाएकी थिइन्।
उता, स्पेनका लागि प्याट्रिसिया गुइराओले मात्रै गोल गर्न सकिन्। मारिओना काल्डेन्टी र आइतेना बोनमतीको प्रहार इंग्लिस गोलकिपरले विफल पारिन् भने साल्मा पारउइलोको प्रहार बारमा लागेर बाहिरिएको थियो। यसरी, स्पेनका चारमध्ये एउटा मात्र पेनाल्टी गोलमा परिणत भयो।
इङ्ग्ल्याण्डको फाइनलसम्मको यात्रा
फाइनल अघि, स्पेनले जर्मनीलाई १-० ले हराएर फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो। इंग्ल्यान्डले भने इटालीलाई २-१ ले पराजित गर्दै उपाधि भिडन्तमा प्रवेश गरेको थियो।


