सुमन सरला
सभ्यता संस्कार हरायो, मानिस चरित्र हिन भए भनेर केही मानिस अलाप्छन्-सुन्दा हो भनेझै लाग्दछ। अनि धेरै मानिस त्यसलाई पत्याइदै त्यही कुरा दोहोर्याउछन्। उक्त कुराको कारण र परिणामको अनिवार्यताको तथ्यगत अध्ययन गर्दैनन् किनकि तथ्यगत अध्ययनबाट आउने,आफुभित्र गढेर बसेको मान्यता र धारणा प्रतिकूल निष्कर्ष सँग मानिस डराउँछ।
धेरै मानिसहरू Fundamentalism लाई जीवनको आधार बनाउँछन्। यथास्थितिमा आफ्नो अनुकूलता स्थापित गर्दछन् र मस्त रहन्छन् र सामान्य रूपले हेर्दा तिनको जीवन सहज र सफल देखिन्छ।
केही थोरै मानिसहरू Rationalism तिर झुकाव राख्छन् – Fundamentalism लाई चुनौती दिन्छन्। Rationalist हरू Fundamentalist हरूलाई अराजक लाग्दछन्, चरित्रहिन र बेकारका मानिस लाग्दछन्। ती अनुत्तरदायी र गतिछाडा लाग्दछन्।
तर आज सम्मको मानवजातिको विकास हेर्ने हो भने Fundamentalism सधैं प्रत्युत्पादक साथै अमानवीय रहेको छ। तर Rationalism सधैं मानव सभ्यतालाई थप मानवीय, स्वतन्त्र र विज्ञान सापेक्ष बनाउँदै अघि बढेको छ।
Fundamentalism को एउटा समस्या के हो भने उत्पादनका साधन स्रोतको स्वामित्वको परिवर्तनले संस्कार संस्कृतिमा परिवर्तन आउँछ भन्ने स्वीकार्दैन। आफ्नो सहज जीवनको निम्ति उसले अनुशरण गरेका नीतिले मानव सभ्यतामा पर्ने नकारात्मक असर बारे सोच्दैन। उसको निम्ति उसको परिवार र उसका केही मान्यता बाहेक सबै कुरा भ्रम हुन्।
फ्रेडरिक एंगेल्स को पुस्तक “परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्तिको” निष्कर्ष भन्छ : आधुनिक परिवार …र राज्य नै शोषणका प्रमुख संरचना हुन.. र समाज विकासको एउटा बिन्दूमा मानव जाति परिवार र राज्यको बन्धन बाट मुक्त हुनेछ र वास्तविक मुक्ति हासिल गर्नेछ। र संसारमा यो कुरालाई पुष्टि गर्ने भ्रुण देखा पर्न थालेका छन्।
पक्कै एकदिन यस्तो आउनेछ – मानिस कुनै विचार, भगवान, संस्कृति – सभ्यता,धर्म, राष्ट्र, परिवार, सम्पति कसैको दास हुनेछैन। साँच्चै मान्छे स्वतन्त्र हुनेछ। मानिस मानवीय हुनेछ। भोक र रोगले कोही मर्नेछैन। दाइजो ल्याइन भनेर कोही जल्ने छैन। पैतृक सम्पत्तिमा झगडा हुनेछैन, विरासतको भरमा आफुलाई महान देखाउने कुप्रथा अन्त्य हुनेछ र मानिस सभ्य र स्वतन्त्र हुनेछ। Fundamentalism चिहानमा छोपिनेछ र समाजमा चरित्रको सर्टिफिकेट बाड्नेहरूको अन्त्य हुनेछ।

