नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । शुक्रबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई इन्धनको मूल्य बढाउने निर्णय गरेको हो ।
निगमका अनुसार शुक्रबार इण्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य बढेर आएपछि नेपालमा पनि शनिबार बिहान १ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गरिएको छ । मूल्य वृद्धिसँगै पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ बढाइएको छ ।
त्यस्तै, हवाई इन्धनको मूल्य आन्तरिक उडानका लागि प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरिएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौँमा प्रतिलिटर ४३ डलरका दरले मूल्य बढाइएको छ । पोखरा र भैरहवाका लागि ब्रेक इभन पोइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ ।
मूल्य वृद्धिपछि अब पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १६४.५०, दोस्रो वर्गमा १६६ र तेस्रो वर्गमा १६७ रुपैयाँ पुगेको छ । डिजेल/मट्टितेलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १५७.५०, दोस्रो वर्गमा १५९ र तेस्रो वर्गमा १६० रुपैयाँ पुगेको छ।
नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारको मूल्य समायोजन गर्दै मूल्य निर्धारण गरेको बताएको छ । निगमले उपभोक्ताहरूलाई न्यूनतम भार पर्ने गरी मूल्य निर्धारण गरिएको दाबी गरेको छ ।

