काठमाडौँ । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री एवं दाङ क्षेत्र नम्बर २ की प्रतिनिधिसभा सदस्य रेखा शर्माले विकास योजनालाई निर्धारित समयभित्रै सम्पन्न गर्न र गुणस्तरीयरुपमा सम्पन्न गर्न सरोकारवालालाई आग्रह गर्नुभएको छ । संघीय सरकारको बजेटबाट निर्माणाधीन विभिन्न विकास योजनाहरुको अनुगमन गर्ने क्रममा शर्माले यस्तो आग्रह गरेकी हुन् । सांसद शर्माले सरकारी अधिकारी, निर्माण व्यवसायी र स्थानीय उपभोक्तासँग यस्तो आग्रह गरेकी हुन् ।
आफ्नो ठाउँको विकासका लागि स्थानीयबासीले जोड दिएर योजना माग गरेजस्तै अब योजना समयमै सम्पन्न गर्न र गुणस्तरीयता कायम गर्न पनि ध्यान दिनुपर्नेमा उनले जोड दिइन् । हरेक पालिका, वडा र टोल स्तरमा पुग्दा स्थानीयबासीबाट ठूलो मात्रामा विकास योजना माग हुने भए पनि देशको आर्थिक अवस्था र स्रोत साधनको सीमितताका कारण थोरै मात्र योजना पर्ने उल्लेख गर्दै उनले परेका योजना पनि समयमै र गुणस्तरीय रुपमा सम्पन्न नहुने देशको ठूलो समस्या भएको बताइन् ।
समस्या समाधानका लागि सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने र जनताको विकासप्रतिको चाहनालाई सम्बोधन गर्न सरकारी निकाय बढी नै संवेदनशील हुनुपर्ने पूर्वसँचार तथा सूचना प्रविधि मन्त्री सम्म रहेकी सांसद रेखा शर्माले भनिन् – ‘सरकारी निकायले सेवा प्रवाह र विकास निर्माणलाई गति दिन सक्ने होइन भने जनतामा असन्तुष्टि बढ्ने खतरा हुन्छ । यस्ता खतराप्रति आज पनि हामी उत्तिकै सजग रहन आवश्यक छ ।’
सांसद रेखा शर्माले पहिलो चरणमा तुलसीपुर उपमहानगरभित्र सञ्चालित विभिन्न योजनाहरुको अनुगमन गरेकी थिइन् । बाँकी योजनाको अर्को चरणमा र पटक पटक अनुगमन गर्ने पनि पूर्वमन्त्री शर्माले जानकारी दिएकी छन् ।

अनुगमनका क्रममा दाङ क्षेत्र नम्बर २ कि सांसद शर्माले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८, १६ तथा घोराही उपमहानगरपालिका वडा नम्बर ९, १४ र १८ मा निर्माणाधीन सडकको अनुगमन गरिन् भने घोराही १३ मा निर्माणाधीन भूपु सैनिक संगठनको बहुउद्देश्यीय भवन र घोराही–१८ मा निर्माणाधीन नेपाल मगर संघको मगर सांस्कृतिक भवनको पनि अनुगमन गर्न भ्याइन् । त्यसैगरी पूर्वमन्त्री शर्माले घोराही–१४ झिंगौरास्थित हरियाली पार्ककोे पनि अनुगमन गरिन् । सो स्थानमा स्थानीय तहमार्फत् पर्यटन मन्त्रालयको बजेटबाट पार्कको पर्खाल निर्माण भइरहेको छ । कुल ६८ लाख बजेट रहेकोमा ५३ लाखमा निर्माण सम्झौता भएर पर्खाल निर्माणको काम थालिएको घोराही उपमहानगरपालिकाले जानकारी दिएको छ । पार्कभित्र निर्मित सहिदहरुको प्रतिमाको तीन वर्षअघि अज्ञात व्यक्तिले तोडफोड गरेकाले यसको पनि पुनर्निर्माण गरिने उपमहानगरपालिकाले जनाएकाो छ ।
अनुगमनका क्रममा उनले सडक विभाग, सघन शहरी कार्यालयलगायत विकास योजनाको जिम्मेवारी लिएका कार्यालयका प्रमुख तथा प्रतिनिधि, निर्माण व्यवसायी, स्थानीय तहका जनप्रतिनिधि र अधिकारी तथा स्थानीय उपभोक्तासँग छलफल गर्न भ्याएकी थिइन् । सो क्रममा सम्बद्ध अधिकारीहरुले पाएको जिम्मेवारी तथा योजनालाई प्रभावकारी रुपमा सम्पन्न गर्ने बताएका थिए । निर्माण व्यवसायीहरुले भने कतिपय सवालमा सरकारले ध्यान दिनुपर्ने बताएका थिए । टेण्डर प्रकाशित भएर निर्माण सम्झौता ढिला भएकाले आगामी असारभित्र योजना सम्पन्न गर्न समस्या हुने भन्दै केही निर्माण व्यवसायीहरुले सरकारी निकायले भुक्तानीमा लचकता अपाउनुपर्ने वा आगामी वर्षको बजेटमा पुरानो काम सम्पन्न गर्ने योजनालाई प्राथमिकता दिनुपर्ने बताएका थिए । तुलसीपुर क्षेत्रका व्यवसायीहरुले ग्राभेललगायत निर्माण सामाग्रीको अभाव आजको मुख्य समस्या भएको बताएका थिए ।

