काठमाडौँ। युक्रेनले ब्ल्याक सीमार्फत यात्रा गरिरहेका रुसी मालवाहक तेल ट्यांकरमाथि शक्तिशाली नौसैनिक ड्रोन आक्रमण गरेको छ। युक्रेनी अधिकारीका अनुसार रुसी कच्चा तेल बोक्दै आएका स्याडो फ्लीटका दुई ट्यांकर—काइरोस र विराट—लाई लक्षित गरी आक्रमण गरिएको हो।
बीबीसीले उल्लेख गरेअनुसार समुद्रमा दौडिने उच्च-गतिको ड्रोनले ती ट्यांकरलाई नजिकैबाट प्रहार गरेको दृश्य प्रमाणित भएको छ। भिडियोमा ड्रोनहरू तीव्र गतिमा जहाजतर्फ अघि बढ्दै गएर अन्तिममा ठूलो विस्फोट भएको स्पष्ट देखिन्छ।
यस आक्रमणलाई युक्रेनले रुसको तेल आम्दानी कमजोर पार्ने रणनीतिक संकेतका रूपमा हेरिएको बताइएको छ। २०२२ मा युक्रेनमाथि आक्रमणपछि रूसले पश्चिमी प्रतिबन्ध छल्न सयौँ पुराना र अस्पष्ट स्वामित्व भएका जहाजमार्फत तेल ढुवानी गर्दै आएको छ, जसलाई स्याडो फ्लीट भनिन्छ।
वर्तमानमा यस्तो स्याडो फ्लीटमा २ हजारभन्दा बढी जहाज रहेको अनुमान छ। मालिकाना संरचना लुकाइएका कारण यी जहाज कुन कम्पनीका हुन् भन्ने पहिचान बाहिरी पक्षका लागि कठिन हुने बताइन्छ।
विशेषज्ञहरूका अनुसार युक्रेनको यो आक्रमणले रुस–युक्रेन युद्ध झनै तनावपूर्ण मोडतर्फ अघि बढ्ने संकेत दिएको छ।

