काठमाडौं। उखु किसानले आजदेखि सुरु गर्ने घोषणा गरेको आन्दोलन स्थगित गरेका छन्। कृषि तथा पशुपन्छी विकासमन्त्री मदनप्रसाद परियारले दुई साताभित्र समस्या समाधान गर्ने आश्वासन दिएपछि आन्दोलन रोकिएको नेपाल उखु उत्पादक महासंघले जनाएको छ।
किसानले सर्लाहीको हरिवनमा अनिश्चितकालीन रूपमा पूर्व–पश्चिम राजमार्गमा चक्काजाम गर्ने घोषणा गरेका थिए। उनीहरुले गत वर्ष २०८१/८२ को बाँकी रहेको प्रतिक्विन्टल ३५ रुपैयाँ अनुदान भुक्तानी गर्नुपर्ने तथा चालु २०८२/८३ क्रसिङ सिजनका लागि उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ७५० रुपैयाँ कायम गर्नुपर्ने माग राख्दै मन्त्री परियारसमक्ष ज्ञापनपत्र बुझाएका थिए।
मन्त्री परियारले दुवै माग समाधान गर्न दुई हप्ता समय मागेपछि तत्कालका लागि आन्दोलन स्थगित गरिएको महासंघले स्पष्ट पारेको छ।
उखु खेती हुने महोत्तरी, सिराहा, सुनसरी, रौतहट, बारा, नवलपरासी, कञ्चनपुरसहितका जिल्लाका किसानले हरिवनबाट संयुक्त आन्दोलन थाल्ने निर्णय गरेका थिए।

सरकारले गत वर्ष किसानलाई दिने प्रतिक्विन्टल ७० रुपैयाँ अनुदानमध्ये ३५ रुपैयाँ मात्रै भुक्तानी गरेको भन्दै किसान असन्तुष्ट छन्।

