काठमाडौँ। सरकारले थप तीन जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले चुम्चेत स्यार खोला, मिडिल लिखु र छोमरोङ खोला जलविद्युत् आयोजना निर्माणका लागि अनुमतिपत्र जारी गरेको हो।
चिलिमे जलविद्युत् कम्पनीले निर्माण गर्ने ४५ मेगावाट क्षमताको चुम्चेत स्यार खोला जलविद्युत् आयोजना गोरखाको चुम्चेतस्थित बुढीगण्डकी नदीमा नदी–प्रवाही प्रकृतिमा निर्माण हुनेछ। आयोजनाबाट वार्षिक ३४८ गिगावाट–घण्टा ऊर्जा उत्पादन हुने अनुमान छ।
उत्पादित विद्युत् न्यू बुढीगण्डकी प्रोक सबस्टेसनमा ११० किलोमिटर लामो २२० केभी प्रसारण लाइनमार्फत जोडिने विद्युत् विकास विभागले जनाएको छ। सो प्रसारण लाइन राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले निर्माण गरिरहेको छ।
रसुवागढी, साञ्जेन र मध्य भोटेकोशी जस्ता आयोजना सम्पन्न भइसकेकाले चिलिमे जलविद्युत् कम्पनीका लागि स्यार खोला परियोजना अर्को महत्वपूर्ण विस्तारका रूपमा रहेको छ।
यस्तै विभागले ८.६० मेगावाट क्षमताको मिडिल लिखु जलविद्युत् आयोजनालाई पनि उत्पादन अनुमति दिएको छ। सो आयोजना रामेछापको साँघुटारमा निर्माण हुनेछ।
त्यसैगरी घान्द्रकु हाइड्रोले निर्माण गर्न लागेको ४.८९ मेगावाट क्षमताको छोमरोङ खोला जलविद्युत् आयोजनालाई समेत उत्पादन अनुमतिपत्र प्रदान गरिएको छ।
विभागका अनुसार हालसम्म २६३ जलविद्युत् आयोजनालाई उत्पादन अनुमतिपत्र दिइसकेको छ, जसको कुल क्षमता ११ हजार ९७ मेगावाट बराबर छ।
चालु आवमा मात्रै १३ जलविद्युत् आयोजनाले उत्पादन अनुमति पाएका छन्। यस्तै आवको यही अवधिसम्म ४२ आयोजनाले सर्वेक्षण अनुमतिका लागि आवेदन दिएका छन्।
विभागमा हालसम्म सर्वेक्षण अनुमतिका लागि पुगेका कुल १९३ आयोजनाको क्षमता ९ हजार ६८९ मेगावाट रहेको छ।

