काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताको समय आइतबार सकिँदैछ। निर्वाचन आयोगले मंसिर १ देखि १० गतेसम्म दर्ता अवधि तोकेको थियो। दर्ताका लागि चाप बढेपछि आयोगले म्याद आजसम्मका लागि थपेको थियो।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार हालसम्म १३७ दल दर्ता भएका छन्। नयाँ दल दर्ताका निवेदनहरू निरन्तर आयोगमा आइरहेका छन्। आयोगले नयाँ दल दर्ताका लागि कात्तिक महिनाभर समय खुला गरेको थियो।
फागुन २१ गतेकाे प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि मंसिर १० गतेसम्म १ सय ६ दल दर्ता भइसकेका थिए। बाँकी दलले त्यसयता दर्ता प्रक्रिया पूरा गरेका हुन्।
यस्तै, आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि भने १३ दल मात्र दर्ता भएका आयोगले जनाएको छ। राष्ट्रियसभा निर्वाचनमा सहभागी हुन इच्छुक दललाई मंसिर १ देखि ७ गतेसम्म दर्ता समय तोकिएको थियो। यस निर्वाचनमार्फत १८ सदस्यका लागि मतदान हुनेछ।

