काठमाडौँ । नेपाल आयल निगमले इन्धनको खुद्रा मूल्य पुनः समायोजन गरेको छ। निगमको सञ्चालक समितिको निर्णयअनुसार आज मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर चार रुपैयाँ घटाइएको छ भने पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाइएको छ।
नयाँ मूल्यअनुसार पहिलो वर्गमा पर्ने क्षेत्रमा डिजेल तथा मट्टितेल प्रतिलिटर १३९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४१ रुपैयाँ र तेस्रो वर्गमा १४२ रुपैयाँ कायम गरिएको छ। त्यसैगरी पेट्रोलको मूल्य पहिलो वर्गमा १६० रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६२ रुपैयाँ र तेस्रो वर्गमा १६३ रुपैयाँ तोकिएको छ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्जलाई पहिलो वर्गमा राखेको छ। सुर्खेत र दाङ दोस्रो वर्गमा परेका छन् भने काठमाडौँ, पोखरा र दिपायल तेस्रो वर्गमा समेटिएका छन्। सम्बन्धित डिपोदेखि १५ किलोमिटरसम्मका क्षेत्रमा यही खुद्रा बिक्री मूल्य लागू हुने निगमले जनाएको छ।
यसपटक हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य भने यथावत राखिएको छ। इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ ९३ पैसा घटेको र पेट्रोलमा १ रुपैयाँ ९४ पैसा बढेको कारण खुद्रा मूल्य समायोजन गर्नुपरेको निगमको भनाइ छ।

